मिलान, असार ९ : इटालियन सिरी ‘ए’ अन्तर्गत सोमबार भएको खेलमा रोमेलु लुकाकु र लौटारो मार्टिनेजको गोलमा इन्टर मिलानले साम्पडोरियालाई २–१ ले हराएको छ।
इन्टर घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा लिएको अग्रतालाई अन्तिमसम्म कायम राख्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो। पहिलो हाफमा २–० को अग्रता लिएको इन्टरले दोस्रो हाफमा एक गोल खान पुगेको थियो। घरेलु मैदानमा भ्रमणकारी टोली साम्पडोरियामाथि हाबी भएको इन्टरका लागि लुकाकुले १०औं मिनेटमा गोल गरी टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
टोलीका लागि खाता खोलेका लुकाकुले यससँगै जारी सिजनको १८औं गोल पूरा गरेका छन्। गोल गरेलगत्तै घँुडा टेकेर लुकाकुले ‘ब्ल्याक लिभ्स म्याटर’ आन्दोलनलाई समर्थन जनाएका थिए। अग्रता लिएको इन्टरका लागि मार्टिनेजले ३३औंमिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि इन्टरले रक्षात्मक बन्दै खेल प्रदर्शन गरेको फाइदा उठाउँदै साम्पडोरियाका मोर्टन थ्रोरस्बीले ५२औं मिनेटमा गोल गर्दै अन्तर घटाए। बाँकी समयमा साम्पडोरियाले अर्को गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।
सोमबार जित निकालेको इन्टर तालिकाको तेस्रो स्थानमा उक्लियो। इन्टरले २६ खेलबाट ५७ अंक जोडेको छ भने अंक गुमाएको साम्पडोरियाको समान खेलबाट २६ अंक छ। इन्टर शीर्ष स्थानको युभेन्ट्सभन्दा ६ अंकले पछाडि छ।
लिगअन्तर्गत सोमबारकै अर्को खेलमा एट्लान्टाले भ्रमणकारी टोली सासौलोलाई ४–१ को भारी अन्तरले हराउँदै तीन अंक जोड्न सक्यो।