सम्झनामा डा.तीर्थमान मास्केको अन्तिम बर्दिया भ्रमण
बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित

रमेश कुमार थापा
अनुभुति

लगातार साढे तीन दशक भन्दा लामो समय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग अन्तर्गत रहेर वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणमा योगदान गर्ने अवसर पाउने सौभाग्यशाली ब्यक्तिहरु मध्ये म पनि एकजना हुँ । कहिलेकाहिं आफ्नो बिगतलाई पनि फर्केर हेर्दा एकाएक गर्वको महशुस पनि हुने गर्दछ । फिल्डमा अहोरात्र खटेर सम्पादन गरेका कामहरुको बिभागिय प्रमुखबाट प्रसंशा हुँदा संसार जितेको अनुभूति हुने गर्दथ्यो । बिभागका सस्थापक महानिर्देशक बिश्वनाथ उप्रेतिले बर्षमा एकपटक अनिवार्य रुपमा फिल्ड निरिक्षण गर्नु हुन्थ्यो । त्यसपछिका महानिर्देशकमा डा. उदय राज शर्मा ,डा. तीर्थमान मास्के र नारायण पौडेल फिल्डप्रेमि महानिर्देशक हुनुहुन्थ्यो । वहाँहरु फिल्ड आएपछि भए गरेका कामहरुको स्थलगत निरिक्षण गरेर मात्र फर्किनुहुन्थ्यो । निरिक्षणका क्रममा निकुञ्ज ब्यवस्थापन सम्बन्धि भएका कामको परिमाण र गुणस्तर समेत अनुगमन गर्नुहुन्थ्यो वहाँहरु । जस्ले गर्दा फिल्डको काम चुस्त, दुरुस्त र गुणस्तरिय पनि हुने गर्दथ्यो ।

डा. तीर्थमान मास्के सरसँग सँगै बसेर काम गर्ने सौभाग्य कहिल्यै मिलेन । उहाँ विभागको महानिर्देशक भएपछि मात्रै चिन्ने मौका पाएँ । उहाँले मलाई पटक पटक पढ्न जाउ, पढ्नु पर्छ भनेर सम्झाइरहनु हुन्थ्यो । आफ्नै कारणले मैले अध्ययनलाई अगाडि बढाउन नसकेकोमा मास्के सर मसँग असन्तुष्ट हुनुहुन्थ्यो । उहाँले पाकिस्तानमा पढ्नका लागि लाग्ने खर्च समेत जोहो गरिदिनुभएको थियो । तर पनि परिस्थितिले मलाई साथ दिएन । मास्के सर फिल्डमा आएपछि बाटोघाटो, घाँसेमैदान, पानीपोखरी, हात्तीसार सबै निरीक्षण गर्नुहुन्थ्यो । कार्यालय समयमा युनिफर्म नलगाएको कर्मचारीको सातो खानुहुन्थ्यो । उहाँ आउने भनेपछि सबै सतर्क हुन्थ्यौं  ।

बर्दिया राष्ट्रिय निकुञ्ज स्थापनाको रजत जयन्ती मनाउने शिलशिलामा तत्कालिन श्री ५ अधिराजकुमार ज्ञानेन्द्र प्रमुख अतिथिको रुपमा बर्दिया आउनु भएको थियो । वहाँ तत्कालिन श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष पनि हुनुहुन्थ्यो । रजत महोत्सवको कार्यक्रम सकिएपछि कोषका मानिसहरुले मास्के सरलाइ श्री ५ अधिराज कुमारबाट टाइगर टप्स होटलमा बोलावट भएको सन्देश लिएर आएका थिए । मास्के सर सहितको टोली टाइगर टप्स होटलमा पुग्यौं । त्यहाँ कोषका उच्च पदाधिकारीहरुले श्री ५ अधिराज कुमार समक्ष संरक्षित क्षेत्रमा कोषले काम गर्दा राष्ट्रिय निकुञ्ज बिभागले स्वतन्त्रतापूर्वक काम गर्न नदिएको । कोष पनि ऐन अनुसार स्थापित सस्था भएकोले आफुखुसी काम गर्न पाउनु पर्ने बिषयमा कुरा राखेका रहेछन । छलफलको क्रममा मास्के सरले कार्यक्रम संचालन गर्दा स्वीकृती लिने कुरा त अनिवार्य नै भयो अन्य कामले प्रबेश गर्दा समेत वार्डेनको लिखित अनुमति बिना प्रबेश गर्न नपाइने करा ऐनमा ब्यवस्था भएकोले ऐन अनुसार नै हुने भनी दृढतापूर्वक आफ्नो अडान राख्नु भयो । मास्के सरले ऐनको किताब खोलेर देखाएपछि कोषका मान्छेहरु तत्कालिन श्री ५ अधिराज कुमारका अगाडी रातो अनुहार बनाएर मुन्टो झुकाएर उभिएका थिए । त्यस बेला देखि मैले मास्के सरको आँट र आफ्नो सस्थाप्रतिको समर्पणबाट म अति नै प्रभावित भएको थिएँ ।

डा. तिर्थमान शाक्य सर  सेवा निवृत्त भएपछि बर्दिया आउने हुनुभएछ । उहाँलाई सकभर बबई उपत्यकाको भ्रमण गराउने भन्ने विभागबाट जानकारी आयो । त्यसबेला  बबई उपत्यकामा वन्यजन्तुको व्यापक चोरीशिकार हुने गरेको थियो । सेना सबै केन्द्रिकृत भएकोले निकुञ्जका कर्मचारी पनि बबई उपत्यका छोडेर गएका कारण पुरै क्षेत्र खाली हुन पुगेको थियो । मिति २०६३।२।७ देखि १० गतेसम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक डा.तीर्थमान मास्के लगायत निकुञ्ज कर्मचारी, हात्तीसार कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका कर्मचारी लगायत ४५ जनाको टोलीले ६ वटा हात्ती सहित बबई उपत्यकामा स्वीपिङ्ग अपरेसन परिचालन गरिएको थियो ।

हामी पहिलो दिन परेवाओडारबाट स्वीपिङ्ग गर्दै कालीनारा गएर बास बस्यौं । कालीनारामा पुग्दा बबई नदी पारी बन्दुकको आवाज सुनियो । त्यसको करिब १५ मिनेटमा एउटा पोथी जरायो बेपत्ता दौडिंदै आएर मास्के सरको अगाडि ढल्यो । एकछिन छटपटाएर त्यो जरायो ढलेकै ठाउँमा मर्यो । शिकारीको गोली लागेर घाइते भएको जरायो बेहोशीमा दौडिएर आएको रहेछ । जरायोलाई भरुवा बन्दुकमा फलामको रड काटेर बनाएको गोली हानेको रहेछ । मुचुल्का, पोष्टमार्टम रिपोर्ट बनाएर जरायोलाई खाडल खनी गाडियो । त्यो देखेर मास्के सर निकै भावुक हुनुभयो । दिनभर थाकेको भएपनि मलाई खाना खानै मन भएन भनेर त्यो रात उहाँ भोकै सुत्नुभयो ।

 

हामी भोलिपल्ट बिहानै चना, अण्डा र चिया खाएर अघिल्लो दिन बन्दुक पड्केको ठाउँतिर गस्ति गर्न गयौं । गेमस्काउट मैनबहादुर थापा, लालबहादुर थापा, घोस्या थारु र टंकबहादुर थारुको टोलीले दक्षिणबाट उत्तर तिर बगेको खोलाको भित्र पट्टि मानिसको आवाज सुन्यौं भन्ने खबर गरे । हामीले त्यो खोलालाई अंग्रेजी सी आकारमा घेरा हालेर अगाडि बढ्यौं । तर दुर्भाग्य खोलाको दाया बाया ठूलो भिर रहेछ, साथीहरु ओर्लिनै सकेनन । खोलै खोला जाने टोलीलाई देख्नासाथ शिकारीहरु उकालो तर्फ भाग्न थाले । हामीहरुले दौडिएर भेट्टाउन सकेनौं । हाम्रो हात्तीसारे साथी चुडामणि थारुले एक जनालाई समात्न सफल भए अरु सबै वेपत्ता भए । त्यहाँ हामीले ६ थान भरुवा बन्दुक, तयारी अवस्थामा रहेको करिब एकसय किलो ग्राम सुकुटी मासु र केही आलो मासु बरामद गर्यौं । बरामद मासु बबई नदीमा बगाएर हतियार र पक्राउ परेको मान्छेलाई लिएर हामी गुठी पोष्टमा पुगेर बास बस्यौं ।

 

दोस्रो दिन बिहानै नियमित नास्ता गरेर चेपाङ्गतर्फ प्रस्थान गरियो । हामी सानोश्री, ठूलोश्रीबाट अगाडि बढेर मोहरनाथ पुग्दा एक जना मानिस हतियार सहित रुखबाट ओर्लिंदै गरेको देख्यौं । म, चित्रबहादुर खड्का, इन्द्रप्रसाद जैसी, मनवीरे कामी, रामकुमार भुसाल लगायतका साथीहरु दौडेर त्यहाँ पुग्दा त्यो मान्छे रुखबाट  ओर्लि सकेको थियो । उसले हामी तिर बन्दुक सोझ्याएर म भागे पछि मात्र आउ नत्र म गोली हान्दिन्छु भन्न थाल्यो । मनवीरे कामीसँग अघिल्लो दिन पक्राउ गरेको बन्दुक थियो । मनवीरेले पनि त्यो मान्छे तर्फ बन्दुक ताकेर हतियार फाल नत्र म पनि हान्दिन्छु भनेर धम्की दिए । तर त्यो मानिसले अटेरी गरी रुखको आड लिएर अगाडि बढ्ने कोशिस गर्न थाल्यो । मनवीरेसँग बन्दुक भएकोले त्यो मान्छेले मनवीरेलाई नै केन्द्रित गरेर ‘आफ्नो बन्दुक फालेर मलाई भाग्न देउ होइन भने म बन्दुक पडकाउछु’ भन्न थाल्यो । मनवीरेसँगको बन्दुक खाली थियो । मैले मनवीरेलाई बन्दुक फाल्न भनें । त्यो मानिस दाया बायाँ बन्दुक ताक्दै फालेको बन्दुक उठाउन आउदै थियो । त्यतिबेलासम्म म लुकेर उसको पछाडि पुगिसकेको थिएँ । त्यो मान्छे मनवीरेले फालेको बन्दुक उठाउन झुक्नु भन्दा अगाडि नै मैले आफूसँग भएको लठ्टी उसको गर्धनमा बजारें । त्यो मान्छे ऐया जिया (ऐया आमा) भन्दै भुईमा ढल्यो । नजिकैबाट रामकुमार भुसाल दौडेर आइ उसको बन्दुक समात्नु भयो । असावधानीबस बन्दुक भूसालजीकै हातमा पड्कियो तर कुनै दुर्घटना भएन ।

बरामद  हतियार सहित त्यो मानिस समेत लिएर हामी साँझ चेपाङ्ग पोष्टमा पुगेर बास बस्यौं । हामीले तीन दिनको स्वीपिङ्गमा एउटा पनि गैंडा फेला पार्न सकेनौं । तर तीन वटा जती गैंडाको पाइला फेला पारेका थियौं । बबई उपत्यकामा पटक पटक गरी सत्तरी वटा गैंडा स्थानान्तरण गरिएको थियो । तर एउटा पनि गैंडा नदेख्दा मास्के सर निकै चिन्तित हुनुभयो । चौथो दिन हामी पूर्वचिसापानी, कोहलपुर हुँदै ठाकुरद्वारा फर्कियौं । आउँदो हिउदमा बबई उपत्यकामा क्याम्पिङ्ग गर्न आउने बाचा गर्दै मास्के सर हामीबाट बिदा भएर काठमाण्डौ फर्किनु भयो । त्यसको करिब चार महिना पछि २०६३ साल असौज ७ गते ताप्लेजुङ्ग जिल्लाको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परेर वहाँको दुःखद देहावसान भयो । । मास्के सरले पुनः बर्दिया घुम्न आउने बाचा पुरा गर्न पाउनु भएन । हामीले एउटा असल अभिभावक र देशले एउटा सच्चा संरक्षणविद्लाई  गुमाउनु पर्यो ।  त्यो दुखःद दिनलाइ राष्ट्रले “राष्ट्रिय संरक्षण दिवस” को रुपमा मनाउने गरेको छ । त्यो दुर्घटनामा डा.मास्के लगायत मेरो जागिरे जीवनको पहिलो हाकिम डा. दामोदर पराजुली, हाम्रो बिभागका बहालवाला महानिर्देशक नारायण पौडेल, डब्लु डब्लु यफ का डा.चन्द्र गुरुङ्ग र निमा वाङ्गचु शेर्पा लगायत मेरा अग्रजरुलाई मैले सदाका लागि गुमाएको थिएँ । वहाँहरुलाइ सम्झिंदा आज पनि मन बिह्वल भएर आउछ । देशका सच्चा संरक्षणकर्मी सपूतहरुमा सादर श्रध्दाञ्जली अर्पण गर्दछु । जय संरक्षण ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय