पोलार्ड विश्फोटक ब्याटिङमा न्युजिल्यान्डलाई विशाल लक्ष्य
शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित

एजेन्सी – कप्तान काइरन पोलार्डको विश्फोटक ब्याटिङमा वेस्टइन्डिजले पहिलो टि२० खेलमा घरेलु टोली न्युजिल्यान्डलाई १ सय ८१ रनको विशाल लक्ष्य दिएको छ ।

वर्षाको कारण प्रभावित हुँदा १६ ओभरमा छोटाइएको खेलमा वेस्टइन्डिजले ७ विकेट गुमाउँदै १ सय ८० रन बनायो । खराब अवस्थामा पुगेको वेस्टइन्डिजलाई विशाल योगफलमा पुर्याउन कप्तान काइरन पोलार्डले ३७ बलमा ४ चौका र ८ छक्का सहित ७५ रनमा अविजित रहँदै बलियो योगफलमा पुर्याए ।

ओपनर आन्द्रे फ्लेचर र ब्रेन्डन किंगले ३.२ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । वेस्टइन्डिजले एक रन जोड्न प्रमुख पाँच विकेट गुमाउँदा उत्कृष्ट सुरुवात गरेपनि ५.१ ओभरमा ५९–५ को कमजोर अवस्थामा पुगेको थियो ।

लोकी फर्गुसनले चौथो ओभरको दोस्रो बलमा फ्लेचरलाई ३४ रनमा बोल्ड आउट गरेपछि न्युजिल्यान्ड खेलमा फर्किएको थियो । अन्तिम बलमा फर्गुसनले शिम्रन हेटमायरलाई विकेटकिपर टिम सिफर्टबाट शून्यमा क्याच आउट गराए । पाँचौ ओभरको दोस्रो बलमा कप्तान टिम साउथीले ब्रेन्डन किंगलाई १३ रनमा जेम्स निसमबाट क्याच गराउँदा वेस्टइन्डिज ५८–३ को अवस्थामा पुगेको थियो ।

पाँचौ बलमा रोभमन पावेल पनि शून्यमा क्याच आउट भए । छैटौं ओभरको पहिलो बलमा फर्गुसनले विकेटकिपर तथा आक्रामक युवा ब्याट्सम्यान निकोलस पुरनलाई एक रनमा एलबिडब्लू आउट गरेपछि वेस्टइन्डिज ५९– ५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि पोलार्ड र एलेनले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासेका थिए ।

फर्गुसनले १४ औं ओभरको तेस्रो बलमा एलेनलाई सिफर्टबाट ३० क्याच आउट गराए । एलेनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । फर्गुसनले किमो पललाई शून्यमा क्याच गराउँदै आफ्नो पाँच विकेट पूरा गरेका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । जुन फर्गुसनको टि२० करिअरको उच्च प्रर्दशन हो । कप्तान टिम साउथीले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।हाम्रो खेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर