पौष १४ दाङ –लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय ८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनाए । गण्डकीका कुनैपनि ब्याटरले दोस्रो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको कसिलो बलिङ सामु गण्डकी सुरुवात देखिनै दबाबमा परेको थियो ।
तीव्र गतिकी बलर कविता कुवँरले तेस्रो ओभरको पाँचौ बलमा ओपनर सृजना पौडललाई शून्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । छैटौं ओभरको पहिलो बलमा पुर्णता शाहीलाई सुनिता लुहरले २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएकी थिइन् ।
लुहरलेनै सृष्टि पौडेललाई ८ रनमा लक्ष्मी साउँदबाट क्याच आउट गराइन् । १२ औं ओभरको तेस्रो बलमा कप्तान शीला रेग्मी क्षेत्रीलाई ऋतु कनोजियाले ४ रनमा बोल्ड आउट गरेपछि गण्डकीको जितको सम्भावना टाढिएको थियो ।
एलिसा लामिछाने र सीमा केसी ४–४ रनमा आउट भइन् । ज्योत्स्निका मरासैनी ६ र कुसुम गोदर ५ रनमा अविजित रहिन् । सुदूरपश्चिमको जितमा सुनिता लुहरले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । लक्ष्मी साउद, ऋतु कनोजिया र कविता कुवँरले १–१ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९.३ ओभरमा १ सय ७ रनमा अल आउट भएको थियो। सुदूरपश्चिमकी ओपनर रेवती धामीले ३६ बलमा २ चौका सहित सर्वाधिक २७ रनको योगदान दिइन् ।
चौथो ओभरको दोस्रो बलमा सृष्टि पौडेलले ओपनर मन्जु बोगटीलाई १० रनमा बोल्ड आउट गरेकी थिइन् । मन्जुले १४ बलमा १ चौका प्रहार गरिन् । छैटौं ओभरको तेस्रो बलमा स्पिनर एलिसा लामिछानेको बलमा ठूलो सट खेल्नेक्रममा कविता कुवँरलाई ७ रनमा सिमाना केसीबाट क्याच आउट हुन पुगेकी थिइन् ।
आठौं ओभरको अन्तिम बलमा डली भट्ट एलिसा लामिछानेको बलमा २ रनमा कट एण्ड बोल्ड आउट भएपछि सुदूरपश्चिम केहि समस्यामा परेको थियो । १४ औं ओभरको अन्तिम बलमा ज्योत्स्निका मरासैनीले रेवतीलाई विकेटकिपर सोनिया थापाबाट क्याच आउट भएपछि ठूलो योगफल टाढिएको थियो ।
अन्जली विश्वकर्माले कप्तान विन्दु रावललाई १३ रनमा बोल्ड आउट गरेकी थिइन् । रुवि पोदार पनि ५ रनमा आउट हुँदा ऋतु कनोजिया ७ रनमा अविजित रहिन् । स्पिनर एलिसा लामिछानेले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् ।
तीव्र गतिकी बलर सृष्टि पौडेलले ३.३ ओभरमा १६ रन खर्चिदै ३ विकेट लिइन् । ज्योत्स्निका मरासैनी, अन्जली विश्वकर्मा, कुसुम गोदर ले समान १ विकेट लिए । बुधबार पहिलो खेलमा सुदूरपश्चिम र प्रदेश नम्बर १ भिड्ने छन् । दोस्रो खेलमा बागमती र गण्डकी भिड्ने छन् ।हाम्रोखेलकुदबाट साभार