फाल्गुन-४,(फरक समाचार)/ स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलको उत्कृष्ट प्रर्दशनको सहयोगमा भारतले दोस्रो टेष्ट खेलमा इंग्ल्यान्डलाई ३ सय १७ रनको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै चार टेष्ट खेलको सिरिज १-१ को अवस्थामा पुगेको छ ।

जितका लागि ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड चौथो दिन ५४.२ ओभरमा १ सय ६४ रनमा अल आउट भयो । इंग्ल्यान्डका स्पिनर मोईन अलीले १८ बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ४३ रन जोड्दै हारको अन्तर घटाए । कप्तान जो रुटले ९२ बलमा ३ चौका सहित ३३ रनको योगदान दिए ।
अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर रोरी बन्र्स २५, ड्यान लरेन्स २६ र ओली पोप १२ रनमा आउट भए । भारतलाई सहज जित दिलाउन डेब्यू खेलमै स्पिनर अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्रन आश्विनले ३ र कुलदीप यादवले २ विकेट लिए ।
पहिलो इनिङमा १ सय ९५ रनको अग्रता लिएको भारत दोस्रो इनिङमा २ सय ८६ रनमा अल आउट हुँदै विशाल लक्ष्य दिएको थियो । भारतलाई विशाल योगफलमा पुर्याउन तल्लोक्रममा स्पिनर रविचन्द्रन आश्विनले १ सय ४८ बलमा १४ चौका र १ छक्का सहित १ सय ६ रनको शतकीय इनिङ खेले । आश्विनको यो करिअरको पाँचौं शतक हो ।
कप्तान विराट कोहली १ सय ४९ बलमा ७ चौका सहित ६२ रनमा आउट भए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर रोहित शर्मा २६, सुभमन गिल १४, रहाणे १०, ऋषभ पन्त ८, चेतेश्वर पुजारा ७ रनमा आउट हुँदा मोहम्मद शिराज १६ रनमा अविजित रहे । इंग्ल्यान्डका स्पिनरद्धय ज्याक लेच र मोईन अलीले ४–४ विकेट लिए । तीव्र गतिका बलर ओली स्टोनको नाममा १ विकेट रह्यो ।

पहिलो इनिङमा इंग्ल्यान्ड ५९-५ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स १ सय ७ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे । डोम सिब्ले १६, बेन स्टोक्स १८ र ओली पोप २२ रनमा आउट भए । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ५ विकेट लिए । अक्षर पेटल र ईशान्त शर्माले २–२ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ३ सय २९ रनमा अल आउट भएको थियो । भारतका ओपनर रोहित शर्माले २ सय ३१ बलमा १८ चौका र २ छक्का सहित सर्वाधिक १ सय ६१ रनको योगदान दिए । रोहितको यो करिअरको ७ औं टेष्ट शतक हो । ऋषभ पन्त ७७ बलमा ७ चौका र ३ छक्का सहित ५८ रनमा अविजित रहे ।
अजिक्या रहाणे १ सय ४९ बलमा ९ चौका सहित ६७ रनमा आउट भए । कप्तान विराट कोहली शून्यमा आउट भएका थिए । इंग्ल्यान्डका मोईन अलीले ४, ओली स्टोनले ३ र ज्याक लेचले २ विकेट लिए ।
पहिलो टेष्टमा इंग्ल्यान्ड २ सय २७ रनले विजयी भएको थियो । तेस्रो टेष्ट २४ फेब्रुअरीदेखि अहमबादमा सुरु हुनेछ ।साभार हाम्रो खेलकूद