कञ्चनपुर, चैत्र १३ / चितवनको भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन धुर्मुस सुन्तली फाउण्डेसनको टोलीले कञ्चनपुरमा पुगेको छ। फाउन्डेसनका सञ्चालक सिताराम कट्टेल ‘धुर्मुस’लगायतको टोलीले दोधारा चाँदनी नगरपालिकाबाट अभियान सुरुवात गरेका छन्।
रंगशाला निर्माणका लागि आर्थिक अभाव भएकाले रकम संकलन गर्न मेची–महाकाली अभियान सञ्चालन गरिएको फाउन्डेसनका सञ्चलक कट्टेलले बताए। ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा छौं। यो नितान्त राष्ट्रको अभियान हो‚’ उनले भने, ‘यस अभियानलाई पूरा गर्न सबैको सहयोग र साथ चाहिएको छ।’
रंगशाला निर्माणका लागि ४३ करोड रुपैयाँ खर्च भइसकेको कट्टेलले जनाकारी दिए। जसमध्ये करिब १३ करोड उधारोमा काम भएको उनले बताए। उनका अनुसार अहिलेसम्म रंगशाला निर्माणको ३० प्रतिशत काम भइसकेको छ।
२०७५ माघ १६ मा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच रंगशाला निर्माणका लागि सम्झौता भएको थियो। रंगशाला निर्माणका लागि तीन अर्ब ५५ करोड रुपैयाँ लाग्ने अनुमान छ। रंगशालामा ३० हजार दर्शक अट्ने र १० हजार सवारी साधान पार्किङ गर्ने सुविधा हुनेछ। बाहिर निष्कने चारवटा द्वार हुनेछ।
रंगशालाभित्र ७७ वटै जिल्लाका कोठा रहने छन्। रंगशाला खेल्ने र हेर्ने मात्र नभई अध्ययन गर्ने ठाउँका रुपमा समेत विकास गरिने कट्टेल बताउँछन्।थाहाखबरबाट साभार