सुकुटे महोत्सव हुँदै
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १२ : नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सिन्धुपाल्चोकको समग्र पर्यटन क्षेत्रको विकास प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रथम सुकुटे महोत्सव–२०७६’ महोत्सव आयोजना हुने भएको छ । जिल्लाको सुकुटेसहितका महत्वपूर्ण पर्यटकीयस्थलको प्रचारप्रसार तथा जल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित यही फागुन १७ देखि २० गतेसम्म महोत्सव गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सिन्धु पर्यटन व्यवसायी संघको आयोजना तथा वन वातावरण तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश, भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्डको सहयोग तथा स्थानीय सामाजिक युवा क्लबको समन्वयमा महोत्सव आयोजना गरिने भएको हो ।

नेपाल भ्रमण वर्षको सन्दर्भमा सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय ‘हव’को रूपमा विकास गर्न तथा जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

सुकुटे क्षेत्रका जलयात्रा, सुकुटे–ओख्रेनीसम्मको पदमार्गको प्रचार तथा स्थानीय उत्पादनको बजारीकरण र बिक्री वितरणको व्यवस्थापन गर्न पहल गरिने जनाइएको छ । तातोपानी नाका, भैरवकुण्ड र जुगल हिमाल जाने प्रवशेद्वारको रूपमा प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

राजधानी काठमाडौँबाट ६८ किलोमिटर दुरीको सुकुटे क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षण बन्दै गएको छ । यो क्षेत्रमा १० वटा होटल छन् । दैनिक दुई हजार ५०० पाहुना व्यवस्थापन गर्नसकिने सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवको अवधिमा २० हजार पर्यटक लैजाने आयोजकको दाबी छ । महोत्सवका लागि ३० लाख खर्च हुने र झण्डै पाँच करोडको कारोवार हुने जनाइएको छ । महोत्सवमा ५० वटा व्यावसायिक स्टल रहने छन् भने विभिन्न खेलकूद गतिविधि तथा सांस्कृतिक प्रस्तुति हुनेछन् । महोत्सवका क्रममा पहिलो पटक सुनकोशीमा ‘वाटर बोट’ शुरु गर्ने कार्यक्रम छ ।

छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

हाल आन्तरिक पर्यटकको चहलपहल बाक्लिँदै गएको तनहुँ जिल्लाको विभिन्न पर्यटकीयस्थलमध्ये आँबुखैरेनी गाउँपालिकाअन्तर्गतको छिम्केश्वरीमा ‘छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६’ आयोजना हुने भएको छ ।

छिम्केश्वरी पर्यटन विकास समितिले नेपाल पर्यटन बोर्ड र आँबुखैरेनी गाउँपालिकाको सहयोगमा यही फागुन २५ देखि २७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो । छिम्केश्वरी पर्यटन विकास समितिका निर्देशक हीरासिंह गुरुङले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेर पनि गति लिन नसकेको छिम्केश्वरी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

धार्मिक पर्यटन प्रवद्र्धनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार गरी पर्यटकीय गतिविधि बढाउने महोत्सवको लक्ष्य रहेको छ । छिम्केश्वरीमाईको मन्दिर निर्माणका साथै सांस्कृतिक संरक्षणमा जनचेतना अभिवृद्धि गर्न महोत्सवले सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि पुज्य र आराध्यस्थलको रूपमा रहिआएको छ । समुद्री सतहदेखि दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरी मन्दिर परिसरबाट मनोरम हिमशृंखलाको दृश्वावलोकनका साथै स्थानीय संस्कृति र जनजीवनको अवलोकन गर्न पाइन्छ । सात देवीहरूमध्ये जेठी बूढीदेवीमाई र माहिली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् । साहिँली गोरखकालीमाई, काहिँली मनकामनामाई, अन्तरी इच्छा कामनामाई, जन्तरी अन्नपूर्णमाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्वावलोकनसहित दर्शन गर्न सकिन्छ ।

यी सात देवीमध्ये छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकांक्षा पूरा नहुने जनविश्वास रहेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय