बर्दियामा लागुऔषधसहित ४ जना पक्राउ
शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित

बर्दिया,चैत २९ / लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिकाबाट दुई र बारबर्दिया नगरपालिकाबाट दुईजना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक राजेश साहुको नेतृत्वमा खटिएको प्रहरी टोलीले बढैयाताल–२ फुटाहमा भारतबाट नेपालतर्फ साइकलमा शंकास्पद रुपमा आइरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको थियो । बढैयाताल–१ ठुलो डाँफेका ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापालाई नियन्त्रणमा लिई जाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

दुवैले कुखुराको दानामा लुकाएको ८ सय १० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो रङको धुलो पदार्थसहित नगद २२ हजार ५ सय फेला परेको प्रहरीको भनाइ छ । दुवैमाथि अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर अनुसन्धान भइरहेको छ ।

यस्तै, बारबर्दिया नगरपालिका–४ कुसुम्बाघाटबाट गुलरिया–८ कोठिया गाउँका २५ वर्षीय दिनेश चौधरी र वडा नंम्बर ७ गुलरियाका २२ वर्षीय राजकुमार अहिरलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । कालो रङको प्लास्टिकमा पुरिया बनाई राखेको अवस्थामा १ ग्राम २० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ३ हजार ६ सय ४६ समेत फेला परेको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बानियाभारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर