सद्दीक नाउँ
बर्दिया,बैशाख २६/ तकदिरमै नलेखेपछि केहीगरी सुख नहुनेरहेछ । गरिबका लागि सुख–आराम भनेको सपनामा देख्ने कुरा रहेछ । विपनामा त जे लेखामा छ, त्यही निभाउनु परिहाल्छ । मैले पनि टाउकोमा दाउराको भारी बोकेर गुलरियाका गल्ली–गल्ली चाहर्न थालेको ४० वर्षभन्दा बढी भइसक्यो ।
अहिले ६८ वर्षमा पनि दाउराको भारीले छाडेको छैन । गुलरिया नगरपालिका–७, स्थित सडक किनारको ऐलानी जग्गामा बनाएको झुपडीमा बास छ । धनी हुँदो हुँ त ठूलो घरमा मजाले आराम गरिरहेको हुन्थेँ होला । मेरो खप्परमै आराम कहाँ लेखेको छ र ? आफूलाई स्याहार चाहिने उमेरमा १४ जनाको पालनपोषणको जिम्मेवारी काँधमा छ ।
एक भारी दाउरा बेच्न पनि महाभारत हुन्छ । चरक्क पोल्ने घाममा टाउकोमा भारी राखेर दैनिक ५/६ किलोमिटर हिँड्छु । गुलरिया, तुलापुर, बेलौली, मनकामना र सन्तोषी टोलदेखि जिल्ला समन्वय समितिको कार्यालयसम्म पुग्छु । बुढो भएर होला यसरी डुल्दा थकाइ लाग्छ । थाके पनि भारी बिसाइयो भने साँझ खाना नपाक्ने पिरले बस्न दिँदैन । दाउरा बिक्री भएनभने दाल–चामल किन्ने पैसा हुँदैन । रित्तो हात घर फर्किएका दिन बालबच्चा भोकै सुत्छन् । परिवार भोकै सुतेको उदाहरण मेरा लागि नौलो होइन । कहिलेकाहीँ महँगी सम्झिएर रातभरि निन्द्रा लाग्दैन । यसबाहेकको काम सुरु गरौं भने न सीप छ, न लगानी ।
सबेरै उठेर भारी बोकेर बजार दौडिन्छु । मध्याह्नसम्म बिकेन भने बजारमै एक ठाउँमा भारी अडेस लगाएर खाना खान घर फर्किन्छु । खाइसक्नेबित्तिकै दाउरा राखेको ठाउँमा पुग्छु र बेच्न डुल्छु । केहीगरी साँझसम्म बिकेन भने भारी घरै ल्याउँछु । जाडोमा ताप्न र खाना पकाउन दाउराको खपत बढी हुन्छ । जाडोयाममा दिनमा ४ भारीसम्म दाउरा बिक्छ । आज भोलि गर्मीमा ग्यास प्रयोग गर्छन् । मुस्किलले दिनमा एक भारी दाउरा कटाउन पनि गाह्रो हुन्छ । एक भारी दाउरा २ सय ५० देखि ३ सय रुपैयाँमा बिक्री गर्छु ।
दाउरा बटुल्न पनि उस्तै सास्ती छ । आफ्नै मुलुकमा बटुल्न पाइँदैन । घरबाट ५ किलोमिटर टाढा भारतको मुर्तिहा जंगलबाट दाउरा ल्याउँछौँ । जेठा छोरा, दुई छोरी र श्रीमती जान्छन् । भारतीय जंगलमा काम (बेगारी) गरेपछि मात्र बाल्नका लागि मसिना दाउरा ल्याउन पाइन्छ । यसबापत जंगलका ‘मुन्सी’लाई प्रतिव्यक्ति महिनाको ५ सय बुझाउनुपर्छ । उनीहरूले भारतबाट बटुलेर ल्याएको दाउरा बेच्ने काम मेरो हो । २ छोरा, ५ छोरी, एउटी बुहारी, ४ नाति र बुढाबुढी गरी १४ जनाको परिवार छ । जेठो छोराले ४ र कान्छाले ३ कक्षासम्म पढेर छाडे । जेठो छोराबाट ४ नाती छन् । साइँली छोरी ९ कक्षा पुगेपछि स्कुल गइनन् । अहिले कान्छो छोरा कपाल काट्न सिक्दैछ । उसले कमाइ गरिसकेको छैन ।
झुपडीमा कोच्चिएर बसिरहेका छौं । हाम्रो पीडा सरकारले देखे पनि नदेखेझैँ गरिरहेको छ । कसैले हेर्दैनन् । पहिले सडक साँघुरो हुँदा घरको आँगन फराकिलो थियो । त्यसबेला आँगनमा पनि खाट राखेर सुत्थ्यौं । आजभोलि सडक फराकिलो बनाइयो । आँगन साँघुरिएपछि झुपडीभित्र सीमित छौं । मेरो कमाइले परिवारमा कसैलाई पनि एकसरो लुगा किन्न पुग्दैन ।
चाडपर्वका बेला मनकारीले लुगा दिन्छन् । त्यसैले वर्षभरि जेनतेन लाज छोप्छौं । दाउरा बेचेर महिनामा १४/१५ हजार कमाइ हुन्छ । त्यो सबै दाल–चामल, नुन, तेल, सागसब्जी, मसला किन्दै सकिन्छ । माछामासु खान त पर्व नै कुर्नुपर्छ । पैसा भए पो बचत गर्नु । परिवारमा कोही बिरामी परिहाले अस्पताल लैजान आफूसित उपाय हुँदैन । त्यस्तो बेला गाउँलेले चन्दा संकलन गरेर अस्पताल पठाउछन ।(प्रस्तुति : रामप्रसाद चौहान,स्रोत ईकान्तिपुर)