बर्दिया, असार ७ / यो वर्ष अन्य वर्ष भन्दा मनसुन छिटै सुरु भएको छ । त्यसैगरि अन्य वर्ष भन्दा बढि वर्षात हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको हो । नभन्दै बिहीबार राती देखि मनसुनको आगमन भइसकेको छ । बिहीबार परेको अबिरल वर्षाको कारण शुक्रबार बिहान ३ बजे बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा बाढी पस्यो ।
बाढीका कारण बारबर्दिया नगरपालिका ७ बुद्धनगर बस्ने रमेश चौधरीको घर छेउमा बाँधेको दुई वटा राँगा र चतुरराम थारुको दुई वटा गोरु बाढीले लगेको हो । त्यसैगरि ठाकुरबाबा नगरपालिका– १ मृचिन टोल बस्ने टिकाराम थारुको ७० हजार बराबरको राँगा बगाई लगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी चक्र बहादुर डमरपालले बताए ।
उनका अनुसार ‘ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा पशुचौपायाको मात्र क्षति भएको छ,’उनले भने,’बाढीले कुनै मानवीय क्षति भएको छैन ।’ ठाकुरबाबा नगरपालिकामा १ देखि ४ वडाका दर्शन घर डुबानमा परेका छन् भने बारबर्दिया मा १ सय ५० भन्दा बढी घर डुबानमा परेको बारबर्दिया नगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक पुष्कल बिकले बताए । डुबान क्षेत्रमा उद्दारको लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको थियो ।