किसानसँग मेयर कार्यक्रमले बारबर्दियाका घर–घरमा खुसी भित्रायो
आइतबार, असार ०८, २०८२ मा प्रकाशित

बर्दिया,असार ८ /  मनसुन भित्रिएसँगै जोताईबाट फुर्सद नपाउँने बारबर्दियाका किसान राम बहादुर चौधरीको शनिवार अनुहारमा खुसी छचल्किरहेको थियो । असारको चर्को घाममा जोताईमा भ्याई नभ्याई हुने बारबर्दियाका किसान प्राबिधिक शिक्षालय परिसरमा उभिए पनि फुर्सदिला अनुहारमा छुट्टै किसिमको रौनक देखिरहेको थियो । किसान उभिएको छेउँमा राखिएका कृषि यन्त्र (हाथे ट्याक्टर,पावर टिलर र मोटर) ले प्राबिधिक शिक्षालय परिसर रंगिचगिं देखिएको थियो भने पचास प्रतिशत लगानीले ल्याउँदै गरेको खुसीलाई किसानले पर्खिरहेका थिए ।

बारबर्दिया नगरपालिकाले उपलब्ध गराएको अनुदानको कृषि यन्त्रको सहयोगले बेलैमा जोताई सकिनेमा विश्वास बढेको उनले सुनाए । ‘थारु समुदायमा पहिला जस्तो संयूक्त परिवार हुदैन,सेपरेटमा बस्न धेरै परिवार रुचाउन थालेका छन्’उनले भने,‘त्यसैले जोताईको समयमा बिभिन्न अड्चन र खर्च बढ्थ्यो, अब अनुदानमा ट्याक्टरले गाउँ र टोलमा खुसी भित्राउँने छ ।’

अनुदानमा किसानलाई दिएको ट्याक्टर आवश्यक परेमा नाता,गोता देखि समाजमा समेत भरपुर प्रयोग गर्न सम्झौतामा उल्लेख गरिएकाले सिँचाई र जोताईको समस्याको अन्त्य भएको उनको भनाई छ । किसानसँग मेयर कार्यक्रमबाट समयमै समस्याको समाधान देखेका उनी जस्तै किसानले हतारोको पर्वाह गरिरहेका थिएनन् ।

यसैविचमा मन्चमा उक्लेका नगर प्रमुख छबिलाल थारु,उप–प्रमुख रत्ना कुमारी पान्डे, प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई र वडाका जनप्रतिनिधि तर्फ भने किसानको ध्यान सोझिरहेको थियो । मन्चबाट ईन्डिकेटरमा पूरा गरेका किसानले कृषि यन्त्र(हाथे ट्याक्टर,पावर टिलर र मोटर) वितरण गर्न राखिएको सुनेपछि किसान दंग भए ।

केहि समयको अन्तरालमा दुई सय किसानले कृषि यन्त्र लिएर घर फर्के । वितरणमुखी बजेटको आलोचना भईरहेको बेला मेयरसँग किसान कार्यक्रमले लक्षित समुह लाभान्वित भईरहेका छन् । मेयरसँग किसान कार्यक्रमबाट बारबर्दियाका प्रत्यक्ष रुपमा चार सय किसान लाभान्वित भईसकेका छन् । कृषिलाई प्राथामिकतमा राखेको बारबर्दियामा मेयरसँग किसान कार्यक्रम उदाहरणिय बन्न सफल भएको छ ।

लोकप्रियताको लागि मात्र नभई नगदेबालीमा आश्रित किसानले प्रत्यक्षरुपमा लाभान्वित गर्न मेयरसँग किसान कार्यक्रमलाई स्थानीय सरकारले अख्तियार गरेको नगर प्रमुख थारुले बताए । ‘किसान माथी दिर्घकालिन सोच बनाएर नगरपालिकाले लगानी गरेको छ,’नगर प्रमुख थारुले भने,‘किसान समृद्ध भएपछि छोरा वा छोरी शिक्षा र रोजगारीमा उन्मुख हुन्छन् ।’

किसानसँग मेयर कार्यक्रमबाट उदाहरणिय नगर बन्न सफल हुनेमा जनप्रतिनिधि विश्वस्त रहेको उप–प्रमुख रत्ना कुमारी पान्डेले बताईन् । उनका अनुसार यसअघि पनि पकेट क्षेत्रका किसानलाई स्थानीय सरकारले लाभान्वित गर्ने योजना अनुरुप अनुदानको कार्यक्रम अघि सारिसकेको छ । ईबिडिङ मार्फत बोलपत्र खोलेकाले सस्तो मुल्यमा राम्रो कृषि यन्त्र उपलब्ध भएको प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले बताए । ‘बजारमा किनेको भन्दा केहि प्रतिशत किसानले सस्तो पाएका छन्,पचास प्रतिशतले अनुदानले किसानको घाउँमा मल्हम लागेको छ,’उनले भने,‘जनप्रतिनिधिले अख्तियार गरेको नितिलाई अख्तियार गर्न पाउँदा म पनि खुसी छु ।’ स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय