इन्सेकले छ महिनामा गर्यो चार पिडितलाई सहयोग
सोमबार, असार ०९, २०८२ मा प्रकाशित

बर्दिया, असार ९  (फरकसमाचार) / इन्सेकले ६ महिनामा चार जना पिडित बालिकालाई आर्थिक सहयोग गरेको छ । सन् २०२५ जनवरी देखि जुन १४ सम्म जबरजस्ती करणीमा परेका चार विपन्न परिवारका पिडित बालिकालाई इन्सेकले आर्थिक सहयोग गरेको हो । पिडितहरुको आर्थिक स्थिती कमजोर रहेको हुँदा कानुनी उपचार खोज्न सहज होस् भन्ने उदेश्यले संस्थाको नियमानुसार रु १० हजारका दरले ४ जनालाई सहयोग उपलब्ध गराईएको इन्सेक बर्दियाका प्रतिनिधि प्रकाश पौडेलले बताए ।

इन्सेक बर्दियाद्वारा आइतबार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलित घटनाहरुको अर्ध वार्षिक समिक्षा गरिएको छ । समिक्षा कार्यक्रममा सन् २०२५ जनवरी १ देखि जुन १४ सम्म संकलन भएका मानव अधिकार उल्लङ्घनका घटना प्रस्तुत गरिएको थियो । मानव अधिकार उल्लङ्घन सम्बन्धि प्रहरीमा दर्ता भएको घटना मात्र संकलन गरिएको जनाईएको छ । ६ महिनामा जम्मा ६९ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेको तथ्यांक छ । जसमा बलात्कार ८, यौन दुव्र्यवहार ५, मानव बेचबिखन तथा ओसार पसार १, हत्या १, साइबर २, अभद्र व्यवहार ११, घरेलु हिंसा ४१ वटा घटना दर्ता भएको तथ्यांक सार्वजनिक गरिएको छ । सन् २०२४ जनवारी देखि जुनसम्म ९६ मानव अधिकार उल्लङ्घनका घटना दर्ता भएको थियो ।

‘मानव अधिकार उल्लङ्नका संवेदनशील घटना पनि समाजमै मिलाउने प्रयास हुन सक्छ,’नागरिक समाज संजालकी संयोजक हिमा सुनारले भनिन्,‘त्यसैले समुदाय स्तरमा काम गर्ने सम्बन्धित निकायहरु चनाखो हुनुपर्ने जरुरी छ ।’

आफन्त चिने जानेका व्यक्तिबाट जबरजस्ती करणी हुने गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘जुन सुकै हिंसामा परेको महसुस गरेर न्याय खोज्दै आउने पिडितलाई पहिलो प्राथमिकतामा राख्ने व्यवस्था मिलाईएको छ,’प्रजिअ पौडेलले भने,‘हिंसा पिडितलाई ओसिएमसि मार्फत स्वास्थ्य, कानुनी उपचार र संरक्षणसमेत गर्दै आएका छौं ।’

अर्ध वार्षिक समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला न्यायाधिवक्ता जय प्र.धिताल, प्रहरी निरीक्षक कृष्ण डाँगी, बारएशोसिएसनका अध्यक्ष खडानन्द तिवारी, नागरिक समाज संजालकी संयोजक हिमा सुनार, माइती नेपालकी प्रमुख गायत्री रिमाललगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय