गुलरियाको विश्राम गृह लामो समय देखि जिर्ण अवस्थामा
सोमबार, असार ०९, २०८२ मा प्रकाशित

बर्दिया, असार ९ / गुलरिया नगरपालिका– ६ राधाकृष्ण चोक स्थित विश्राम गृह अहिले बन्द अवस्थामा छ । ७ कठ्ठा १० धुर जग्गामा रहेको यो विश्राम गृह (अतिथि भवन) व्यवस्था परिवर्तन भएको तर, अवस्था परिवर्तन नभएको कारण बन्द भएको हो । गुलरिया नगरपालिका– १० कोठिया निवासी भरत जङ्ग शाहले आफ्नी आमा राजेश्वरी देवी शाहको पुण्य स्मृतिमा जिल्ला विकास समिति (जिल्ला समन्वय समिति) बर्दियालाई प्रदान गरेका थिए । विस २०५४ साउन ३० गते यो विश्राम गृह सञ्चालनमा आएको थियो ।

गुलरियामा आउने अतिथि, राजनीतिक दलका नेता, पाहँुना तथा बिहेको जन्ती विश्राम गर्ने थलोको रुपमा थियो अतिथि भवन । अतिथी भवनको भुइतल्लाको कोठाको एक दिनको रु १० र माथिल्लो तल्लाको कोठाको रु १५ रुपैयाँ भाडा रहेको स्थानीय सुभाष पोखरेलले बताए । ‘जिल्ला समन्वय समितिले त्यति बेला विश्राम गृहको अगाडि पट्टि रहेको सटरबाट शुल्क उठाउने गर्दथ्यो,’उनले भने,‘तर,पक्की सडक बनाउने क्रममा सटर भत्काउनु पर्यो, त्यहाँ आजभोलि पार्किङ स्थल बनाइएको छ, पार्किङ वापतको सेवा शुल्क पनि उठाईदैन ।’

राजनीतिक दलका कार्यक्रमहरू विश्राम गृहको प्राङ्गणमा हुने भएको कारण त्यस स्थानको दुरुपयोग भइरहेको स्थानीय अमित कुमार पाठकको भनाई छ । जिल्ला समन्वय समितिको कार्यक्षेत्र भित्र रहेको यो विश्राम गृहको वास्ता किन गरिरहेको छैन ? यो गम्भिर प्रश्नको चौतर्फी चर्चा भईरहेको छ ।

अतिथी भवनलाई छिटै सञ्चालनमा ल्याउने जिल्ला समन्वय समितिका सूचना अधिकारी कृष्ण कुमारी सहनीले बताए । ‘नगरपालिकासंग साझेदारी र बजेट नमिलेको कारण यसको कार्य अगाडि बढ्न पाएको छैन,’सुचना अधिकारी सहनीले भने,‘हामीले ०७५ देखि ०७९ को डिपिआर हटायौं र नयाँ कम्प्लेक्स तयार गर्न प्रमुख आफैं दुई तीन चोटी काठमाडौँ पुग्नुभएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय