बर्दिया,असार ९ (फरकसमाचार) / बबई नदीमा भईरहेको तटबन्ध अपूरो हुँदा बाढीको जोखिम थेग्न नसक्ने देखिएको छ । गुलरिया नगरपालिका–४ स्थित रामपुर टप्परमा निर्माणाधिन ८ सय मिटर लामो तटबन्ध अपूरो अवस्थामा अलपत्र परेको छ ।
बबई नदीको बहाब नियन्त्रण गर्न नसक्ने गरी तटबन्ध निर्माण भएको देखिन्छ ।
बाढीको क्षति न्यूनिकरणका लागि पुर्व तयारी गर्ने बेलामा अपूरो तटबन्धनले बाढीको जोखिममा सिङ्गो गुलरिया रहेको पाईएको हो । भादा, बबई औरही नदी नियन्त्रण व्यवस्थापन आयोजनाले निर्माण गरेका तटबन्ध अपूरो हुँदा बबई नदी दुई वटा ठाउँबाट बस्ती पस्न सक्ने अनुगमन टोलीको निष्कर्ष छ ।
पूर्व सिंचाई मन्त्री तथा माननिय संजय गौतम, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाही, प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपाल र आयोजना प्रमुख प्रकाश भट्टराईसहित स्थलगत अनुगमनमा गएको टोलीले अपूरो तटबन्धनले बाढी छेक्न नसक्ने निष्कर्ष निकालेको छ ।
बजेटको सिमितता कारण तटबन्ध निर्माण अपूरो रहेको बबई नदी नियन्त्रण व्यवस्थापन आयोजना प्रमुख भट्टराईले बताए । उनका अनुसार निर्माण गरिएका तटबन्ध अपुरो हुँदा यस बर्ष पनि जिल्लाको सदरमुकाम जेठो गुलरिया नगरपालिका बाढीको जोखिममा परेको हो ।
नदि छेक्नका लागी तटबन्धन निर्माण गरेपनि प्रयाप्त बजेट नहँुदा निर्माणाधिन अचकल्टो भएको माननिय गौतमले दुःख व्यक्त गरे । ‘सरकारले संबेदनशिल आयोजना बजेट दिदैन,’उनले भने,‘यो भन्दा लाजमर्दो बिषय के हो ?’ नागरिकलाई बचाउँने बिषयमा सोच्न नसक्ने सरकार भएको बताउँदै माननिय गौतमले वर्तमान सरकारको आलोचना गरे ।
बर्षायाम शुरु हुन लाग्दा समेत कतिपय ठाउँमा तटबन्धन निर्माणधिन अवस्था भएपनि कतिपय ठाउँमा तटबन्धन निर्माण शुरु हुन सकेको छैन ।
बर्षायाम शुरु हुनु अगावै काम सम्पन्न गर्नका लागी दबाब दिनको लागी जिल्ला स्तरिय अनुगमन टोलीले सोमबार तटबन्धनको गुणस्तर र काम प्रगतिको बारेमा अनुगमन गरेको थियो । गुलरिया नगरपालिका बचाउँ अभियानलाई बबई नदीमा बर्सेनि आउँने बाढीले फेल गराईरहेको छ ।
काम भर्खरै शुरु भएका र कुनै अन्तिम चरण पुगेका टुक्रे तटबन्धन बर्षायाममा सदुपयोग नहुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘दुई साता भित्र मनसुन सुरु हुन्छ,’उनले भने,‘ बाढीबाट नागरिकलाई सुरक्षित गर्न अग्लो र सुरक्षित स्थान पहिचान गरिरहेका छौ ।’ उनका अनुसार तटबन्धको काम गरिरहेका कार्यालयले बजेटको सिमितताले काम पुर्ण रुपमा हुन नसकेको गुनासो गर्छन् । तत्काल यहाँको अवस्थामा सम्बन्धित बिभागमा जानकारीसहित तत्काल विकल्प दिन आग्रह गर्ने प्रजिअ पौडेलको भनाई छ ।
०७१ र ०७४ सालको साउँन अन्तिम साता आएको बाढीले गुलरिया नगरपालिकालाई क्षति पुराएपछि बर्षायामको शुरुवातसँगै नगरबासी चिन्तित भएका छन् । २०७१ र ०७४ को साउँनमा आएको बाढीमा ३४ जनाको ज्यान गएको थियो । १३ जनाको अवस्था अझै अज्ञात छ । १३ हजार घर परिवार बाढीबाट प्रभावित भएका थिए ।