बर्दिया,असार ११ (फरकसमाचार) / अस्पतालको पहिलो बैठकमा सेवा सुविधा नलिने अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष रवीन्द्र कुमार यादवले घोषणा गरेका छन् । अस्पतालबाट अध्यक्षले पाउने सेवा सुविधा कटौती गरि कर्मचारी र विपन्न सेवाग्राहीको हितमा खर्च गर्ने अध्यक्ष यादवले सोमबार घोषणा गरेका हुन् । अध्यक्ष यादवले पहिलो बैठकमै महत्वपुर्ण ४ निर्णय गरेका छन् ।
अस्पताल विकास समितिका अध्यक्षले मासिक रु १५ हजार र महिला सदस्यले मासिक रु १० हजार सेवा सुविधा पाउदै आएका थिए । त्यो निर्णयलाई अध्यक्ष यादवले हटाएका छन् । अस्पताल विकास समितिबाट नियुक्त कर्मचारीहरुलाई सुत्केरी प्रोत्साहन भत्ता वापत १ महिना बराबरको प्रोत्साहन भत्ता, मृत्यु संस्कार खर्च रु १० हजार उपलब्ध गराउने र बचेको रकम विपन्न परिवारका सेवाग्राहीको हितमा खर्च गर्ने निर्णय गरिएको छ ।
त्यसैगरि अस्पताल विकास समिति र अस्पताल फार्मेसीको आर्थिक वर्ष २०८२÷०८३ को लागि ५९ र ७ करार दरबन्दी स्वीकृत गरी सोही अनुरुपको रिक्त दरबन्दी पदपूर्ति गर्ने, समिति र फार्मेसी कार्यरत कर्मचारीहरुको खाइपाइ आएको तलब भत्ता समय अनुकुल बढिमा ५ हजार वृद्धि गर्ने, ब्लड बैंकलाई ब्लड फिजको निम्ति जेनेरेटरमार्फत आकस्मिक विद्युत आपूर्ति गरिने र एक पालिका एक विशेषग्य चिकित्सक सत प्रतिश पालिका प्रोत्साहन भत्ताको लागि आग्रह गरिने निर्णय गरिएको जनाईएको छ ।
अस्पताल विकासमा योगदान पु¥याउने संघिय, प्रदेश र गुलरिया नगरपालिकालाई अस्पताल विकास समितिले धन्यवाद व्यक्त गरेको छ । आगामी वर्षमा अस्पतालको ओपीडी भवनलगायत पोष्ट अप एचडियु संचालनको लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाईएको छ ।