बर्दिया, असार १० / गुलरिया नगरपालिका– १ मा स्थानीयले तालाबन्दी गरेका छन् । लामो समय देखि जोतभोग गर्दै आएको जग्गाको वडाले बेचबिखन गर्न सिफारिस गरेको भन्दै स्थानीयले मंगलबार वडामा तालाबन्दी गरेका हुन् ।
स्थानीयले वडा कार्यालयमा ताला लगाउँदा केही कर्मचारी वडा कार्यालयभित्र थुनिएका थिए । हामीले विस २०४२ साल देखि भोगचलन गर्दै आएको जग्गा तारा पराजुलीले जानकारी नगराई पुर्जा निकालेर रुकुमको एक जनासंग बेचेको स्थानीयको आरोप छ । वडाले सिफारिस दिएर जग्गा बेचबिखन भएको आरोप लगाउदै स्थानीय आन्दोलित भएका छन् ।
‘हाम्रो अन्त खुट्टा टेक्ने ठाउँ छैन,’वडा नंम्बर १ की एक स्थानीयले भनिन्,‘वडा अध्यक्ष र वडा सचिवलाई विवादित जग्गाको सिफारिस नदिन भनेका थियौं,तर,उहाँहरुले आफ्नो मनोमानी गरेर सिफारिस दिदाँ जग्गाको बिचबिखन भएको हो ।’ वडा कार्यालयलाई पटक पटक जानकारी गराउँदा वडाले कुनै वास्ता नगर्दा तालाबन्दी गर्न बाध्य भएको स्थानीयहरुको भनाई छ ।
२०४२ सालदेखि जोत भोग गर्दै आएको जग्गा भित्रभित्रै अर्काको नाममा नामसारी भएको स्थानीय लोक बहादुर ओलीले बताए । ‘२०४२ साल देखि जंगल फाँडेर बसेको जग्गा जिसिम खड्काको पालोमा भित्रभित्रै घुस खुवाएर उनीहरूले आफ्नो नाममा फिल्ड बुक बनाएका रहेछन्,’उनले भने,‘त्यही जग्गालाई २०५५ सालतिर तारा पराजुलीले आफ्नो नाममा लालपुर्जा निकालेको रहेछ ।’
‘लामो समय देखि वडा र नगरपालिका धाईरहेको थियौं,’एक स्थानीयले भनिन्,‘वडा,नगरपालिका र आयोगको कमजोरीले हामीले दुःख पाईरहेको छौं ।’ मेरो जग्गा खाली गर भनेर तारा पराजुलीले पटक पटक धम्की दिएको स्थानीयको गुनासो छ । वडा अध्यक्षको कमी कमजोरीको कारण अहिलेसम्म नापी नभएको स्थानीयको आरोप छ । जबसम्म नापी हुदैन तबसम्म वडा कार्यालयमा लगाएको तालाबन्दी नखोल्ने स्थानीयको दावी छ ।
मधुवनकी तारा पराजुलीले विस २०६५ सालमा निकालेको पुर्जा लिएर वडामा आएपछि सिफारिस दिएको गुलरिया नगरपालिका–१ का वडा अध्यक्ष जोगीराम थारुले बताए । ‘व्यक्तिगत सम्पत्तिको पुर्जा लिएर आएपछि घरबाटोको सिफारिस दिएको हो,’अध्यक्ष थारुले भने,‘सोही विषयलाई लिएर स्थानीयले तालाबन्दी गरेका छन् ।’