अभिनव कुमार पाठक
बर्दिया,असार १२(फरकसमाचार)/ बसोबास गरिरहेको जग्गा बिक्रि भएको थाहापाएपछि आन्दोलनमा उत्रेका स्थानीयले गुलरिया नगरपालिका–१ वडा कार्यालयमा मंगलबार देखि लगाएको ताला सहमतिमा खोलेका छन् । वडा कार्यालयले बिगत देखि बसोबास गरिरहेका जग्गा घर बाटोको सिफारिस पास गरेको भन्दै वडा सरकारसँग आक्रोषित भिडले वडा कार्यालयमा ताला लगाएका थिए ।
२४ घन्टा पछि वडा अध्यक्ष जोगिराम थारु, जनप्रतिनिधि र स्थानीय विचको सहमति पछि वडा कार्यालयको ताला खुलेको हो । स्थानीय र जनप्रतिनिधिको विचको सहमतिपछि प्रहरीले ताला खोेलेको हो । त्यसपछि वडा सरकारको दैनिक काम काज सूचारु भएको छ ।
वडा कार्यालय सूचारु गर्न स्थानीय र जनप्रतिनिधि विच पाँच बुदे सहमति भएको छ । नाप नक्साको लागि भूमि आयोगमा वडाले सिफारिस गर्ने, वेचिएको जग्गा फिर्ता गराउँन पहलका लागि गुलरिया कार्यपालिकामा निर्णय गर्न पर्ने लगायतका पाँच बुदेमा सहमति भएको छ । गुलरिया नगरपालिका–१ कमलपुरमा रहेको जग्गा वर्षै देखि वडाबासीले भोग चलन गर्दै आएका थिए ।
स्थानीयको माग भूमि आयोगबाट नाप नक्सा गरेर जग्गा वितरण गर्न पर्ने छ । कमलपुरको जग्गा व्यक्तिको रहेको खुलेपछि वडा कार्यालयको सिफारिसमा उक्त जग्गा अर्को व्यक्तिलाई बिक्रि वितरण भईसकेको छ । तारा पराजुलि नामको जग्गा धनिले कमलपुरको जग्गा आफ्नो नाम गराएर अर्को व्यक्ति लाई वेचिसकेको खुलेको छ ।
हामीले वि.स २०४२ साल देखि भोगचलन गर्दै आएको जग्गा तारा पराजुलीले जानकारी नगराई पुर्जा निकालेर रुकुमको एक जनालाई बेचेको स्थानीयको आरोप छ । २०५५ सालतिर तारा पराजुलीले आफ्नो नाममा लालपुर्जा निकालेको देखिन्छ । वडाले सिफारिस दिएर जग्गा बेचबिखन भएको आरोप लगाउदै स्थानीय आन्दोलित भएका हुन् । सहमति कार्यान्वयमा नआए पुन चरणबद्ध आन्दोलनको घोषणा गर्ने कमलपुर बासीले वडा सरकारलाई चेतावनि दिएका छन् ।