बर्दिया,असार १३ / लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३५ वर्षीया मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्यलाई लागू औषधसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरि हेल्थ क्लिनिकमा लागु औषध बेचिरहेको सुचनाको आधारमा राजापुर नगरपालिका–४ का मान बहादुर चौधरीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय राजापुरका अनुसार क्लिनिकबाट २ सय ७१ वटा लागू औषधका ट्याबलेट फेला परेको छ । चौधरीको क्लिनिकबाट बरामद लागू औषधका ट्याबलेट औषधी विभागमा बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
भारतको बलैगाउँबाट शंकास्पद रुपमा नेपालतर्फ आईरहेको अवस्थामा सुनार र आचार्यलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको २ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट बिहीबार ५ दिनको म्याद थप गरि इप्रका मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।