बर्दिया,असार १४ / बर्दिया राष्ट्रिय निकुञ्ज स्थित संचालन भईरहेको प्रकृति पथ प्रदर्शक (नेचर गाइड) तालिममा युवा र युवतीको आकर्षण देखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज स्थित संरक्षित क्षेत्र व्यवस्थापन तथा अनुसन्धान तालिम केन्द्र लालमाटीमा भईरहेको १५ दिने पथ प्रदर्शक तालिममा युवा युवतीको आकर्षण देखिएको हो । नेचर गाइडबाट आयआर्जन गरि आफ्नो भविष्य सुनिश्चि गर्न सकिने भएकोले युवा युवतीको आकर्षण बढ्दो देखिएको छ । उक्त तालिममा बर्दिया, बाँके र मुगुका युवा युवतीहरुको उत्साहजनक सहभागिता रहेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र जेडएसएल नेपालको संयुक्त आयोजनामा तालिम संचालन भएको छ । असार ४ गते देखि सुरु भएको तालिम असार १८ गतेसम्म चल्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए । ‘प्रकृति पथ प्रदर्शक संघले सिफारिस गरेको युवाहरुलाई तालिममा सहभागि गराईएको छ,’प्रमुख तुम्वाहाम्फेले भने,‘यस तालिममा नेचर गाइडलाई आवश्यक पर्ने सम्पुर्ण ज्ञान सिप सिकानेछ ।’
तालिममा प्रत्येक दिन फरक फरक ४ सेशन संचालन भईरहेको प्रशिक्षक नेचर गाइड राम बहादुर शाहीले जनाए ।
सहभागिलाई प्रत्येक दिन बिहान ६ बजे देखि ९ बजेसम्म जंगल वाक गराउने गरेको जेडएसएलका कमल रेग्मीले बताए । ‘अघिल्लो दिन तालिममा सिकाईएको साँझ परीक्ष हुन्छ,’उनले भने,‘यसरी तालिम र जंगल वाकमा सिकेका ज्ञानको आदान प्रदान हुने हुँदा सिकाई प्रभावकारी भईरहेको छ ।’
तालिम गर्न इच्छुक १४ जना युवायुवतीलाई सिफारिस गरेको प्रकृति पथ प्रर्दशक संघ बर्दियाका अध्यक्ष तथा नेचर गाइड कृष्ण बहादुर शाहले जनाए । त्यसैगरि बाँकेका ५ र मुगुका ३ जना युवा युवतीको तालिममा सहभागिता रहेको छ ।