१० बुँदे मागसहित प्रजिअलाई श्रमिकले बुझाए ज्ञापनपत्र
आइतबार, असार १५, २०८२ मा प्रकाशित

बर्दिया,असार १५(फरकसमाचार) / १० बुँदे मागसहित श्रमिकहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । राजापुर र बाँसगढी नगरस्तरीय श्रमिक सञ्जालमा आबद्ध श्रमिकहरुले शुक्रबार प्रजिअ पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । जिल्ला स्थित मुक्त कमैया, सुकुम्बासी, भुमिहिन तथा विपन्न परिवारको संख्या धेरै छ ।

कृषिका लागि प्रयाप्त जग्गा नभएका र जग्गामा पनि न्युन उत्पादन हुने भएकोले स्थानीय स्तरमा रोजगारको अवसर कम हुने भएकोले मौसमी रुपमा ज्यालादारी काम गर्न बाध्य छन् । पुरुष श्रमिकहरु रोजगारको लागि घरबाट टाढा गई श्रम गरेपनि आर्थिक अवस्था सुधार नहुँदा महिला श्रमिकहरु आफ्नै गाउँ ठाउँमा न्युन ज्यालामा श्रम बेच्न बाध्य रहेको बुझाईएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जिल्ला दररेट निर्धारण समितिमा श्रमिकहरुको प्रतिनिधित्व सुनिश्चित गरियोस्, विगतमा जिल्ला दररेट निर्धारण गर्दा नेपाल सरकारको ज्याला दररेट भन्दा नघट्ने गरि ज्याला तोकियोस्, कार्यस्थलमा श्रमिकहरुको सुरक्षा सामाग्री भए नभएको अनुगमन गरि रोजगारदातालाई सुरक्षा सामाग्री व्यवस्थापन गर्न व्यवस्था मिलाइयोस् ।

त्यसैगरि श्रमिकहरुको सामाजिक सुरक्षा तथा म्यादी बिमाको लागि सम्बन्धित सरोकारवालासंग समन्वय गरियोस्, अनिवार्य हाजिरी कार्डको लागि स्थानीय सरकारसंग समन्वय गर्न र श्रम कार्यक्षेत्रमा हुने कुनै पनि प्रकारको हिंसा, भेदभाव, दुव्र्यवहार र शोषणको अन्त्य लागि सरोकारवालासंग समन्वय गर्न, जिल्ला तथा पालिकास्तरमा श्रमिकहरुको लागि सहायता कक्ष व्यवस्था गर्न, स्थानीय श्रम ऐन नबनेको अवस्थामा स्थानीय सरकारलाई नेपाल सरकारको श्रम ऐन २०७४ कार्यान्वयनको पहल गर्नलगायत माग उल्लेख गरि श्रमिकले प्रजिअलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय