गुलरियामा धुमधामसंग मनाईयो मोहर्रम
सोमबार, असार २३, २०८२ मा प्रकाशित

बर्दिया, असार २३ (फरकसमाचार) / गुलरियामा धुमधामसंग मोहर्रम पर्वमा मनाईएको छ । मुस्लिम समुदायले शनिबार साँझ घर आँगनमा राखेका ताजिया आइतबार साँझ धुमधामका साथ कर्बलामा बिर्सजन गरि मोहर्रम पर्व मनाएका हुन् । मोहर्रम पर्वमा मुस्लिम समुदायले खानाका मिठो मिठो प्रकार बनाई ताजिया राखेको स्थानमा फातिया गराउने परम्परा छ ।

घरमा आएका साथीभाई आफन्तलाई खाना खुवाई शुभकामना साटासाट गरेर मोहर्रम मनाउने चलन छ । मुस्लिम धर्मावलम्बीहरुले ताजियाबाबा राखेको ठाउँमा रातभरी जाग्रराम बस्ने र मासिया गाउँने गर्छन् । ताजिया राखेको ठाउँमा रातभरी धुपबत्ती बल्ने र ताजियाबाबा हेर्न आउँने व्यक्तिहरुलाई सिन्नी (प्रसाद) दिने गर्छन् । मुस्लिम समुदायको पर्वमा हिन्दु धर्मालम्बीहरुको उत्तिकै सहभागिता हुने गरेको छ ।

ति मध्ये एक हो, मुस्लिम समुदायको मोहर्रम पर्व । मोहर्रम पर्वले हिन्दु र मुस्लिम समुदायबिच आपसी सद्भाव कायम गरी भाईचारा बढाउने विश्वास छ । गुलरियाका कतिपय हिन्दु धर्मालम्बीहरुले मुस्लिम समुदाय जस्तै आफ्नै घरमा ताजिया राख्ने गर्छन् । हिन्दु धर्मालम्बीहरुले घरमा ताजिया राख्दा बाबासंग मागेका मन्नत पूरा हुने र दुख हट्ने विश्वास छ । ताजियाबाबा आइतबार बिर्सजनको लागि कर्बला लैजादै गर्दा सबै समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

गुलरिया गाउँमा राखेका ताजियालाई गुलरिया बजारको परिक्रमा गराई बसपार्क नजिक रहेको कर्बलामा र बजार भन्सार रोड क्षेत्रमा राखेका ताजियालाई सुरजपुर नजिकको कर्बलामा बिर्सजन गरिएको हो । ढोल बजाउँदै ताजियाबाबा बिर्सजनका लागि लैजादै गर्दा जो कोहीको ध्यानाकर्षण भएको थियो । विभिन्न टोलमा राखिएको ताजियाहरुलाई एउटै स्थानमा राखी ताजिया मिलन गराएका थिए ।

अल्लाहका दुत ईमामे हुसने युद्वका क्रममा ईराकको कर्बलामा शाहदत प्राप्त गरेको सम्झनामा मोर्हरम पर्व मनाईने गरेको गुलरिया नगरपालिका–६ का मेहताव अहमदले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय