गुलरिया ७ सिताराम टोलको बाटो जीर्ण,स्थानीयलाई सास्ती
बुधबार, साउन ०८, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, साउन ७ / सदरमुकाम छेउमै लामो समय देखि बाटो जीर्ण हुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । गुलरिया नगरपालिका– ७ को वडा कार्यालय देखि गुलरिया गाउँ सिताराम टोलसम्मको बाटो लामो समय देखि जीर्ण हुँदा स्थानीयलाई हैरानी व्यहोर्नु परेको हो । अलि कति वर्षात हुँदा उक्त जीर्ण बाटो हिलाम्य भई स्थानीयलाई हैरानी हुने गरेको छ ।

स्थानीय सरकारको दोस्रो कार्यकाल बित्न लाग्दा समेत जीर्ण बाटोको स्तरउन्नती भएको छैन । जीर्ण बाटो वडाको प्राथमिकतामा नपर्दा सास्ती भोग्नु परेको स्थानीय सर्वसाधारणले गुनासो गर्छन् ।

बाटोमै गाई भैंसी बाँध्दा आवात जावतमा समस्या रहेको एक स्थानीयले बताए । ‘गुलरिया गाउँमा बाटोमै पशुचौपाया बाँध्दासमेत सम्बन्धित निकाय मौन छ,’उनले भने,‘गत वर्ष गुलरिया नगरपालिका–५ तिर सडक बाटोमा पशुचौपाया बाँध्न गाँडिएका किल्ला नगर प्रहरीले उखेल्दै गरेको देखिएको थियो तर, सदरमुकामकै छेउमा गुलरिया गाउँमा सडकमै पशुचौपाया बाँध्दा सम्बन्धित निकाय मौन छ,यसले गर्दा दुर्घटना हुने सम्भावना छ ।’

बाटो जीर्ण छ, अलि कति वर्षात हुँदा हिलाम्य बाटोमा हिड्न बाध्य रहेको गुलरिया नगरपालिका–७ का विश्वास यादवले बताए । ‘यस टोलको जीर्ण बाटो स्तरउन्नतीको लागि वडाले कुनै चासो देखाएको छैन,’उनले भने,‘यस वर्ष पनि बाटो बन्ने छाँट नदेखिदाँ साह्रै दुःखी भएका छौं ।’

बाटो नबन्नुमा स्थानीयहरूको पनि ठूलो कमीकमजोरी रहेको गुलरिया नगरपालिका– ७ का वडाध्यक्ष मनोज कुमार यादवले बताए ।  ‘गाउँका मानिसहरूले त्यही सडकमा खुटा गाँडेर पशु चौपाया बाँध्ने गर्दछन्, एकै चोटि सबै चिज कहाँबाट हुन्छ, बिस्तारै विकास गर्दै जानेछौं,’वडाध्यक्ष यादवले भने,‘आफ्नो गाउँ ठाउँको विकास कसले गर्न चाहँदैन र ?, स्थानीयहरूले आफ्नो घर भत्काउन दिँदैनन्, घर अगाडि गोबर फाल्ने गर्दछन्, अनि कहाँबाट विकास हुन्छ ?’

स्थानीयहरूले साथ दिए भने प्रदेशबाट हुन्छ कि स्थानीय तहबाट हुन्छ तत्काल बाटो बनाउन सुरु गर्ने सुनाए । अध्यक्ष यादवका अनुसार गुलरिया बस पार्क देखि थारु महिला संस्थासम्म बाटो निर्माणको लागि यस वर्ष रु ४० लाख बजेट आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय