जनकपुरधाम, फागुन २० : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी २० वर्षमा त्रेतायुगीन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नुपर्ने विषयमा जोड दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज आयोजित ‘जनकपुरधाम २०४०’ दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक विकास योजना तर्जुमासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा मुख्यमन्त्री राउतले धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको जनकपुरधामलाई सोहीअनुरुप विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले प्रदेश नं २ को स्थायी राजधानी जनकपुर हुने लगभग निश्चित भइसकेको प्रसंग उल्लेख गर्दै उनले जनकपुरधामको दीर्घकालीन विकासको योजना बनाउँदा जनकपुरधामको ऐतिहासिक सांस्कृतिक महत्व र राजधानीको आवश्यकतालाई ध्यानमा राख्न सुझाव दिए । जनकपुरमा बढ्दै गइरहेको अनियन्त्रित बस्ती विकासलाई नियन्त्रण गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री राउतले नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रका लागि ‘स्पेशल जोन’ सहितको अवधारणा ल्याउनु आवश्यक रहेको उल्लेख गरे ।
जनकपुरधाम उपमहानगरपालिकाले २० वर्षपछिको जनकपुरको परिकल्पनासहित ल्याउने गुरुयोजनामा तीनै तहको सरकारले गर्नुपर्ने कामबारे स्पष्ट व्यवस्था गर्न सुझाव हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गर्नुपर्ने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहने स्पष्ट पारे ।
नगरप्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नगरउपप्रमुख रीता मिश्र र सुदृढ परियोजनाको नीति सल्लाहकार कृष्ण ज्ञवालीले कार्यशालाको उद्देश्यबारे प्रकाश पारेका थिए । उक्त कार्यशाला गोष्ठीमा उपमहानगरपालिकाका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि र विज्ञहरूको सहभागिता रहेको छ ।