बोलेरोले ठक्कर दिँदा महिलाको मृत्यु
मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित

लहान, फागुन २० : सिरहाको कर्जन्हा नगरपालिका३ जनकचोकस्थित सडकमा आज बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ज १ च १३६९ नम्बरको बलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्री कर्जन्हा नगरपालिका३ निवासी ६५ वर्षीया कबुत्रीदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते यादवको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यसैबीच विभिन्न मुद्दामा फरार र लागुऔषधसहित सिरहा प्रहरीले आज एकै दिन चार जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार लहान नगरपालिका११ निवासी २२ वर्षीय दिनेश साह र डाँका मुद्दामा फरार सिरहाको गोलबजार नगरपालिका५ निवासी ४० वर्षीय दिलीप भन्ने विजय महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले साहलाई घरबौ र महतोलाई जिल्लाको अर्नमा गाउँपालिका३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस्तै लागुऔषधसहित आजै लहान नगरपालिका४ श्रीजी डिपार्टमेन्ट स्टोर नजिकैबाट लहान नगरपालिका ५ निवासी २१ वर्षीय दीपेन्द्रकुमार यादव र २१ वर्षीया विपना मानन्धरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय