प्रदेश सरकार खेलकूद पूर्वाधार र खेलाडीलाई प्रोत्साहनमा प्रतिबद्ध
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

विराटनगर, फागुन २६  : मोरङको बाहुनीमा आइटिएफ तेक्वान्दो डोजाङ बेलबारीद्वारा¬ प्रदेश नं १ स्तरीय प्रथम बेलबारी मेयर कप तेक्वान्दो प्रतियोगिता आज सम्पन्न भएको छ । आइटिएफ तेक्वान्दोले गत महिना मोरङको दुर्गम ग्रामीण क्षेत्र मिक्लाजुङ गाउँपालिकामा प्रदेशस्तरीय जिल्ला खेलकूद प्रतियोगिताको आयोजना सम्पन्न गरेको थियो भने आगामी चैत महिनामा भोजपुर जिल्लामा खेलकूद आयोजना गरिने आइटिएफका उपाध्यक्ष प्रवीणकुमार कार्कीले बताए ।

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलका माध्यमबाट राष्ट्रको नाम विश्वमा चिनाउनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकार खेलकूद पूर्वाधारमा लगानी गर्ने प्रतिबद्धताका साथ खेलाडीलाई विशेष प्रोत्साहन दिने कार्य गरिरहेको जानकारी गराउँदै भावी पुस्तालाई यसप्रति आकर्षण गरी उनीहरू को सर्वांगीण विकासमा ध्यान दिइने बताए ।

बेलावारी नगरपालिकाका उपप्रमुख ढाका पराजुलीले एक वडा एक खेल मैदान निर्माणको लक्ष्यअनुसार कार्य भइरहेको जानकारी दिए । डोजाङका प्रशिक्षक चतुरलाल चौधरी, आइटिएफका वरिष्ठ उपाध्यक्ष अञ्जनाथ श्रेष्ठलगायतले अपराध रोकथाम एवं लागुऔषध दुव्र्यसन नियन्त्रणमा खेलकूदका माध्यमले सहयोग पुग्ने धारणा व्यक्त गरे । प्रतियोगितामा १३ स्वर्णसहित झापा प्रथम, सात स्वर्णसहित भोजपुर द्वितीय र छ स्वर्णसहित सुनसरी तृतीय भएका थिए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, उदयपुर र आयोजक मोरङको बेलबारी नगरपालिकाका गरी ६० महिलासहित १८४ खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर