‘बी’ डिभिजन लिग : अजितको ह्याट्रिकमा आरसिटी विजयी
शनिबार, चैत ०१, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत १ : अजित गुरुङको ह्याट्रिकमा शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रकारको खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आरसिटीले मध्यपुर युथ एसोसिएशनलाई ३–० गोलले पराजित गरेको हो । लिगको पाँचौँ चरणमा आरसिटीले पहिलो जीत निकालेको हो । खेलको नवौँ मिनेटमा अजितले पहिलो गोल गरेका थिए । पहिलो हाफमा आरसिटीले १–० गोलको अग्रता लिएको थियो । आरसिटीका लागि अजितले दोस्रो हाफमा थप दुई गोल गरे । उनले खेलको ४९औँ मिनेटमा तथा ९०औँ मिनेटमा गोल गरेका थिए । जीतसँगै आरसिटीले पाँच खेलबाट पाँच अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ । मध्यपुर एक अंकका साथ लिगको ११औँ स्थानमा छ ।

 

‘बी’ डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्षटोली ‘ए’ डिभिजनमा उक्लिनेछ । पुछारमा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएशन, पुल्चोक स्पोर्टस् क्लब र बाँसबारी सहभागी छन् । ‘बी’ डिभिजन लिग विजेताले १५ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर