कोरोना भाइरसको प्रभाव रगत संकलनमा
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

चितवन, चैत ६ : कोरोना भाइरसको त्रासले सभा, सम्मेलन हुन छाडेसँगै रक्तदानका कार्यक्रम प्रभावित भएका छन् । यसको प्रत्यक्ष प्रभाव रगत संकलनमा परेको छ । जसका कारण बिरामी उपचारमा समस्या हुन थालेको देखिन्छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार पूर्व निर्धारित १० भन्दा बढी रक्तदानका कार्यक्रम स्थगन भएका छन् ।

 

दैनिक १५० युनिट हाराहारी रगत यहाँ माग हुने गर्दछ । कार्यक्रमनै नभएपछि बिरामीका आफन्तले रक्तदाता खोजेर ल्याउनुपर्ने परिस्थिति सिर्जना भएको छ । पौडेलले भने,‘धेरैं कार्यक्रम स्थगित भए, भएका कार्यक्रममा पनि लक्ष्यको आधा मात्र रगत संकलन हुने गरेको छ ।’

माग बढ्दै जाने तर रगत संकलन नभएपछि समस्या भएको उनले बताए । फागुन ३० गते २१ युनिट रगत संकलन भएकोमा त्यसपछि मंगलबार १०२ युनिट रगत संकलन भएको पौडेलले जानकारी दिए ।

 

जिल्लामा सबैभन्दा बढी रगत बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा खपत हुने गर्दछ । सो अस्पतालमा मात्र केन्द्रबाट ४० प्रतिशत रगत जाने गर्दछ । बाँकी ६० प्रतिशत भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र निजी अस्पतालमा खपत हुने गर्दछ । रगतकै अभावमा ती अस्पतालमा शल्यक्रिया प्रभावित भएका छन् । रगत नपाएर अत्यावश्यक बाहेकका शल्यक्रियाको समय सार्न थालिएको छ ।

 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोनाबाट बच्न अन्य किसिमका सभा सम्मेलन, भेलाहरू नगर्न आग्रह गरिए पनि रक्तदान कार्यक्रमलाई प्रोत्साहित गरिएको बताए । उनले रक्तदानमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे । कोरोनाको त्रासको यस समयमा रगतका कारणले कसैले ज्यान गुमाउन नपरोस् भन्नका लागि रक्तदानका कार्यक्रम गरिदिन केन्द्रले अनुरोध गरेको छ । नेपाल रेड्क्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेका अनुसार नेपाल स्वयमसेबी रक्तदाता समाज र बिरामीका आफन्तहरूले दाता खोजेर अहिलेको संकट टारिरहेका छन् ।

 

केन्द्रमा चितवनसहित नवलपरासीको दाउन्ने पूर्व र पश्चिम, गोर्खा, धादिं, तनहुँ, लमजुं, मकवानपुर, रौतहट, सप्तरी र सर्लाहीबाट रगत संकलन हुने गर्दथ्यो । ती जिल्लामा पनि रक्तदानका कार्यक्रम बन्द भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय