चार स्थानमा हेल्थ डेक्स
शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित

कोभिड–१९ को जाँचका लागि चार स्थानमा स्वास्थ्य सहायता कक्ष( हेल्थ डेक्स) स्थापना गरिने भएको छ । प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाभित्र प्रवेश गर्ने नाकामा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

 जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोल्टी विमानस्थल कोल्टी, जगन्नाथ गाउँपालिकाको जुड्डी, बाह्विसको इकडी र मार्तडी प्रवेश नाकामा हेल्थ डेस्क सञ्चालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिएका छन् ।

 कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका जिल्लाका स्थानीय तह र सबै कार्यालयलाई प्रचारप्रसारमा तीव्रता दिन प्रशासनले आग्रह गरेको छ । नौ वटै स्थानीय तहले प्रतिकार्य योजना बनाएर चैत मसान्तभित्र जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउन र स्वास्थ्यकर्मीलाई आपतकालीन समयबाहेक बिदा नलिन प्रशासनले पत्राचारसमेत गरेको छ ।

 जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले उद्धार टोली तयारीमा राख्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जाँच गर्ने थर्माेमिटरसहित अन्य आवश्यक सामग्री नभएकाले डेस्क सञ्चालनमा ढिलाइ हुने भएको छ ।

सो भाइरसबाट बच्न साबुनपानीले हात धुने, अङ्कमाल नगर्ने, सभा सम्मेलनमा सहभागी नहुने, भीडभाडमा नजान सर्वसाधारणलाई जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले आग्रह गरेका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि अस्पतालले प्रवेशमा एकद्वार प्रणालीको रणनीति अपनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय