कोभिड–१९ : मारमा पर्यटन व्यवसायी
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

रुपन्देही, चैत ८ : कोरोना भाइरसको प्रभावका कारण यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । याम नसकिदै चीनबाट कोरोनाको संक्रमण शुरु भएपछि स्वदेशी तथा विदेशी पर्यटक नआउँदा पर्यटन व्यवसायमा प्रभाव परेको हो । कोरोनाका कारण सबै बुकिङ रद्द भएपछि होटल सुनसान छन् ।

पर्यटक नहुँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको सिद्धार्थ होटल एशोसिएशन नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गुनासो गरे । ‘होटलमा एउटा पनि गेष्ट छैन, खर्च व्यवस्थापनमा समस्या भएको छ’, उनले भने, ‘एक महिनाका लागि सट डाउन गर्ने तयारीमा छौँ ।’ अध्यक्ष श्रेष्ठले सरकारले व्यवस्थापन गर्न सके क्वारेन्टाइन बनाउन होटल दिन तयार रहेको बताए ।

रोगको प्रकोपले सबैभन्दा बढी असर उपभोग र पर्यटन उद्योगमा परेको हो । यसले व्यावसायिक मनोबलमा ठूलो गिरावट ल्याएको छ । अहिले तारेदेखि सामान्य होटलसम्म सुनसान देखिन थालेका छन् । विदेशी पर्यटक जाने तारे होटलदेखि आन्तरिक पर्यटकका कारण चलेका सामान्य होटलहरू सुनसान छन् । यस्तो अवस्थामा सरकारले कर तथा वित्तीय क्षेत्रको ऋण छुट गरेर व्यवसायीलाई राहत दिनुपर्ने व्यवसायीले माग गरेका छन् ।

तारेदेखि सामान्य होटलसम्मले ग्राहक आउन कम भएपछि सञ्चालन खर्च कम गर्न कर्मचारीलाई बेतलवी बिदा दिन थालिएको छ । कोरोनाको प्रभाव बुद्ध जन्मस्थल लुम्बिनीमा पनि देखिएको छ । स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल हुने लुम्बिनी अहिले सुनसान छ । खुल्ला सीमाका कारण भारतीय र केही स्थानीय पर्यटकको उपस्थिति मात्रै देखिएको छ । पर्यटक नभएपछि लुम्बिनीका व्यवसायी फुर्सदिला बनेका छन् ।

लुम्बिनी विकास कोषको तथ्यांकअनुसार अहिले दैनिक ५÷६ सय पर्यटक लुम्बिनी पुग्छन् । बुधबार ६९९ स्वदेशी तथा पर्यटकले लुम्बिनीको भ्रमण गरे । तीमध्ये ५५४ नेपाली, १२२ भारतीय र २३ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । मंगलबार ६८० पर्यटक लुम्बिनी घुमे । जसमा ४४४ नेपाली, ११४ भारतीय र २२ विदेशी पर्यटक थिए । सोमबार ४८२ पर्यटकले लुम्बिनीको भ्रमण गरेका लुम्बिनी विकास कोषका सूचना शाखाका मुकुन्द गौतमले जानकारी दिए । यी पर्यटकमध्ये थोरैले मात्र लुम्बिनीमा रात बिताउँछन् ।

कोरोनाको प्रभावका कारण लुम्बिनीका होटल बन्द हुने अवस्थामा पुगेका लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए । ‘होटल खाली छ, कर्मचारीलाई तलव कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ, यस्तै अवस्था रहे अकौँ महिनासम्म बन्द गर्नुपर्ने अवस्था हुन्छ’, उनले भने । लुम्बिनी क्षेत्रमा पर्यटकलाई लक्षित गरेर खोलिएका पसल पनि सुनसान छन् । कोरोनाको प्रभाव शुरु भएसँगै व्यवसाय प्रभावित भएको लुम्बिनी पर्यटन व्यवसायी संघका सचिव पिन्टु बानियाँले बताए ।

कोरोना भाइरसको प्रभाव पर्यटकीयस्थलमा पनि देखिएको छ । लुम्बिनीसहित प्रदेशका विभिन्न जिल्लाका पर्यटकीयस्थल सुनसान छन् । अहिले पर्यटन क्षेत्रमा वित्तीय क्षेत्रको ऋण लगानी छ । होटल नचलेर पर्यटन आय घटेपछि व्यवसायीलाई ऋण तिर्न समस्या हुने देखिएको छ । पर्यटकीय सिजनकै समयमा कोरोनाको प्रभावका कारण पर्यटक आवागमन न्यून भएपछि व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको व्यवसायीले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय