कोरोनाबारे सत्यतथ्य समाचार मात्र सम्प्रेषण गर्न आग्रह
आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ९ : राष्ट्रिय दलित पत्रकार संघ नेपाललले कोभिड–१९ संक्रमणबारे झुठा र अफवाह फैलाउनेभन्दा पनि सत्यतथ्य सूचना प्रवाह गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ ।

कोरोना भाइरसबारे कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालले झुठा समाचार प्रसारण प्रकाशन गरेर जनतामा त्रास फैलाइरहेको अवस्थामा संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघले जारी गरेको सूचनालाई आत्मसात् गरी देशभर क्रियाशीलरूपमा रहेका पत्रकारले सत्यतथ्य सूचना प्रवाह गर्दै अरूलाई पनि बचाउन र संक्रमण हुनबाट आफू पनि पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।

‘कोभिड–१९ संक्रमणले विश्वलाई आक्रान्त पारिरहेको वर्तमान परिस्थितिमा पत्रकारले विशेष सावधानीका साथ सूचना संकलन र सम्प्रेषण गर्न गराउन ध्यानाकर्षण गर्दछौँ, विभिन्न स्थानमा गई अग्रपंक्तिमा रहेर समाचार संकलन र सम्प्रेषण गर्ने सञ्चारकर्मीमा कोरोना भाइरस सर्नसक्ने बढी जोखिम हुने भएकाले सावधानी अपनाएर जोखिम न्यूनीकरण गर्न अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

संघले बाहिरी सूचनाभन्दा आधिकारिक निकाय वा संस्थाको सूचना तथा जानकारीलाई आधार मान्न र तथ्यपूर्ण यथार्थ समाचार सम्प्रेषण गर्न, भ्रमपूर्ण तथ्यहीन समाचारलाई दुरुत्साहन गरी दोषीलाई नियन्त्रण गर्नसमेत अपिल गरेको छ । कार्यस्थल तथा समाचार संकलनमा खटिएका आफ्ना सञ्चारकर्मीलाई सञ्चारगृहले मास्क, स्यानिटाइजर, पोशाकलगायतका सावधानीका साधन उपलब्ध गराउनुपर्ने, सकेसम्म इमेल तथा फोनमार्फत रिपोर्ट फाइल गर्ने व्यवस्था मिलाउनुपर्ने संघको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय