गृहमन्त्री थापा र भारतीय राजदूतबीच भेटवार्ता
आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ९ : गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रीत रहेको थियो ।

नेपालमा भारतीय राजदूतका रुपमा कार्यभार सम्हालेका क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे । मन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

भेटमा उनले विश्व्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकबीच सहकार्यको आवश्यकतामा जोड दिए । यसै सन्दर्भमा नेपालभारत सीमाबाट सो महामारी नफैलियोस भनेर सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरे ।

 राजदूत क्वात्राले नेपालभारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । उनले कोरोना भाइरस विरुद्धको लडाइमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए  ।

 कोरोनाको त्रासपछिको अवस्थामा नेपालभारत सीमा व्यवस्थापनका सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृह मन्त्रालयसमेतको राय लिएर निर्णय गर्न आफूहरू तयार रहेको क्वात्राले बताए  । उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी साधन उपलब्ध गराउने विषय आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय