कोभिड–१९ : तनहुँ जलविद्युत् आयोजना प्रभावित
आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

दमौली, चैत ९ : कोभिड१९ को प्रभावका कारण चिनियाँ कामदार आउन नपाउँदा ऋषिङ गाउँपालिका१ झापुटारमा निर्माणाधीन आयोजना प्रभावित भएको छ । एक सय चालीस मेगावाट क्षमताको आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएकामा अधिकांश कामदार फर्किएर आउन नसकेको जलविद्युत् आयोजनाका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । उक्त कम्पनीका ४० चिनियाँ प्राविधिकले केवल टनेलमा काम गर्दै आएकामा २० जना नयाँ वर्ष मनाउन गएपछि फिर्ता आउन पाएका छैनन् ।

 फर्किएर आएकामध्ये दुई प्राविधिकलाई शरीरको तापक्रम परीक्षण गरी काममा खटाइएको छ । उनीहलाई सिनो हाइड्रोको आफ्नै आइसोलेशनमा नियमित स्वास्थ्य परीक्षण गरी काममा लगाइएको अधिकारीले जानकारी दिए । नेपाली प्राविधिक र मजदूरसहित आयोजनामा करीब दुई सय  कार्यरत रहेकामा कसैलाई पनि कोरोनाको संक्रमण नहोस् भनेर सावधानी अपनाइएको छ । कामदार नआउँदा काम नरोकिए पनि केही असर भने परेको इञ्जिनीयर अधिकारीले बताए  । चीनबाट ल्याउनुपर्ने सामान अहिले ल्याउन सकिएको छैन,’ उनले भने, ‘जसका कारण आयोजनाको काममा असर परेको छ ।

 आयोजनाको दोस्रो चरणअन्तर्गतको कामको ठेक्का पाएको सिनो हाइड्रोले केवल टनेलको काम गरिरहेको छ । उक्त चरणका लागि सिनोले हाल केवल टनेल खन्ने काम गरिरहेको सिनो हाइड्रोका कमर्सियल म्यानेजर सुरेश चित्रकारले जानकारी दिए । पावर हाउसमा तारहरू लैजानका लागि १८७ मिटर सुरुङ खन्ने काम भइरहेको छ, दुई महीनाभित्र सुरुङ खनेर सकिनेछ,’ उनले भने । उक्त सुरुङ खनेर सकिएपछि मेन एक्सेस टनेलनिर्माण शुरु गरिनेछ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत वैशाख १२ गते आह्वान गरेको दोस्रो पटकको बोलपत्रमा छनोट भएका चार कम्पनीको प्राविधिक प्रस्ताव रद्द भएपछि पुनः तेस्रो पटक बोलपत्र आह्वान गरेको छ ।

 बाँधलगायत पहिलो चरणका संरचना निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका थिए । चार कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावलाई एशियाली विकास बैंक (एडिबी) ले सारभूतरुपमा प्रभावग्राही हुन नसकेको भन्दै रद्द गरिदिएको थियो । उक्त कामका लागि चीनको चाइना गेजुवा गु्रप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेशन लिमिटेड तथा सोङ डा कर्पोरेशन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेश गरेका थिए ।

 तेस्रो पटक आह्वान गरिएको बोलपत्रको म्याद वैशाख १ गते (१३ अप्रिल) सम्म रहेको आयोजनाले जनाएको छ । पहिलो चरणको कामका लागि असोजसम्म निर्माण कम्पनीसँग सम्झौता हुने र कात्तिकदेखि निर्माण कम्पनीलाई आयोजनास्थलमा खटाउने आयोजनाको तयारी छ ।

पहिलो चरणको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको एक सय चालीस मिटर अग्लो कंिक्रट बाँध, नदी फर्काउने दुई सुरुङ, अस्थायी बाँधलगायत संरचना निर्माण गर्नेछ ।

 आयोजनाको तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि एक सय चालीस मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

 आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

 आयोजनाको विद्यृतगृह निर्माणका लागि २८८ मिलियन डलर, प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनस्र्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवम् कर प्रयोजनका लागि ४६ मिलियन डलर र  आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ ।

 यसको लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण आगामी २०८१  असार दोस्रो साताभित्र (जून २०२४) सम्पन्न गर्ने लक्ष्य छ ।

मन्त्रालयद्वारा तापक्रम नाप्ने उपकरण प्रदान

गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले तनहुँको आँबुखैरेनी गाउँपालिका४ पुलजीपमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षलाई तापक्रम मापन गर्ने यन्त्र सहयोग गरेको छ । गण्डकी प्रदेशको प्रवेशद्वारमा आँबुखैरेनी गाउँपालिकाले यही चैत २ गतेदेखि सञ्चालन गरेको सहायता कक्षका लागि मन्त्रालयका सचिव किरणराज शर्माले गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालाई शनिबार एक थान डिजिटल थर्मोमिटर सहयोग गरेका हुन् ।

पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेश भित्रिने यात्रुलाई कोभिड१९ विरुद्ध सचेतना प्रदान गर्न गरिएको सहायता कक्षमा शनिबारदेखि नै यात्रुको तापक्रम मापन गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । यसअघि सहायता कक्षबाट कोभिड१९ विरुद्ध सचेतनामूलक सन्देश प्रवाह र साबुनपानीले हात धुने तरिका सिकाइएको थियो । सहायता कक्षमा दुई स्वास्थ्यकर्मी खटाइएको छ ।

सहायता कक्षका लागि स्वास्थ्यकर्मी अभाव भएकाले उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । डोटेलका अनुसार शनिबार करीब एक सय ५० को तापक्रम मापन गरिएको छ । शनिबार नै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी, प्रहरी उपरीक्षक विनोद सिलवाल र  राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख नवीन अधिकारीले उक्त सहायता कक्षको निरीक्षण गरेका थिए ।

मानिस जमघट हुने व्यवसाय बन्द

कोभिड१९ को जोखिम कम गर्न शुक्लागण्डकी नगरपालिकाले मानिसको बढी जमघट हुने व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न सरोकारवालाको बैठकले नगरपालिकाभित्र सञ्चालित कपाल काट्ने पसल, व्युटीपार्लर, जिमहललगायत बन्द गर्ने निर्णय गरेको नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।

कोभिड१९ विरुद्ध सचेतना प्रदान गर्न कोत्रे बजार, दुलेगाँैडा, खैरेनीटार, ढोरफिर्दी र साँखेमा सहायता कक्ष स्थापना गरिने भएको छ । नगरभित्रका सबै वडामा रहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई कोभिड१९ विरुद्ध सचेतना फैलाउन परिचालन गरिने गुरुङले बताए  ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय