नागढुंगा–कलंकी सडकखण्डमा आकाशे पुल निर्माण गरिने
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २६  : चन्द्रागिरी नगरपालिकाले नागढुंगादेखि कलंकीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ ।

 

नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए । आकाशे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वास नगरपालिकाले लिएको छ, उनले भने ।

 

यसैगरी नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुंगामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुंगाकलंकी सडकखण्डमा सिसीटिभीसमेत जडान गर्न लागेको छ । सिसीटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्नेछ ।

 

नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा नं ८ मा १५ श्ययाको नगरस्तरीय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । भर्खरै सञ्चालनमा आएको अस्पतालमा वर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ ।

 

चन्द्रागिरीका गाउँगाउँका बिरामीलाई अस्पतालसम्म ल्याउनका लागि नगरपालिकाले एम्बुलेन्ससमेत खरिद गर्न लागेको नगरप्रमुख गिरीले बताए । नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय