काठमाडों, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्र्टीका अध्यक्ष पशुपति शम्शेर जबराले देशको आवश्यकताका कारण टुक्रिएर रहेको राप्रपा एक ढिक्का भएको बताएका छन् । यहाँ आज आयोजित राष्ट्रिय प्रजातन्त्र पार्र्टी र राष्ट्रिय प्रजातन्त्र पार्र्टी (संयुक्त) को एकता घोषणा सभामा उनले देशभरका कार्यकर्ताले एक हुन आह्वान गरेका कारण पार्टी एक भएको उल्लेख गरे ।
जनताले कम्युनिष्ट र काँग्रेसको विकल्प खोजेको छ भन्दै अध्यक्ष राणाले दुवै पार्टीले गर्न नसकेका काम राप्रपाले गरेर देखाउने बताए । ‘राप्रपा एक हुनुपर्छ भन्ने आग्रह, सुझाव र माग थियो’, उनले भने, ‘जनताको माग सम्बोधन गर्न हामी एक हुन बाध्य भयों ।’
पार्टी एक भएर मात्र नपुग्ने र यसका लागि जनताको भावनालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सम्पूर्ण प्रजातन्त्रवादी शक्तिलाई एक भएर अघि बढ्न अध्यक्ष राणाले आग्रह गरे । ‘चानचुने उद्देश्यले एक भएका होइनों, मुलुकमा ठूलो फेरबदल ल्याउन एकता गरेका हों’, उनले भने । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सानोतिनो झगडा र भागबण्डामा अल्झेको र भूमिकाविहीन अवस्थामा रहेको अध्यक्ष राणाले आरोप लगाए ।
राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कार्यकर्ताको प्रेरणाका कारण पार्टी एकता भएको बताए । ‘संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हाम्रो मूल मन्त्र हो’, उनले भने, ‘पाँच हजार वर्ष पुरानो सभ्यता रहेकाले त्यसको जगेर्ना गर्नुपर्छ ।’ विश्वभरिका हिन्दूको आस्थाको केन्द्र नेपाललाई बनाउनसके मुलुक आर्थिकरूपमा बलियो हुने उनको भनाइ थियो । प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेकामा उनले काँग्रेसको आलोचना गरे ।
अर्का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र काँग्रेसपछिको तेस्रो शक्तिका रूपमा राप्रपाको एकीकरण भएको उल्लेख गरे । ‘एकताबाट देशले बलियो राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति प्राप्त गरेको छ, जनताले विकल्प खोजेकाले एक हुनुप¥यो’, उनले भने । विसं २००७ यता वामपन्थी र काँग्रेस हावी हुँदै आएको र अब उक्त स्थान राप्रपाले लिने उनको भनाइ थियो । कार्यकर्ताको व्यापक दबाबपछि अध्यक्षत्रय राणा, लोहनी र थापाले हातमा गीता लिएर ‘अब कहिल्यै पार्टी फुटाउँदैनों’ भनेर शपथ खाएका थिए ।’
पार्टी एकता घोषणासभामा पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले आफ्नो वर्षौंदेखिको चाहना पार्टी एकता भएको भन्दै खुशी व्यक्त गरेका थिए । मुलुकको अवस्था सन्तोषजनक नभएको उनको भनाइ थियो । मुलुक बलियो बनाउने उद्देश्यका साथ पार्टी हाँक्न उनले नेतृत्व पङ्क्तिलाई सुझावसमेत दिए । काँगेसको भूमिका नदेखिएकाले जनताले त्यसको विकल्पमा राप्रपालाई हेरेको आफूले पाएको पूर्वप्रधानमन्त्री चन्दको भनाइ थियो ।
कार्यक्रममा नेता दीपक बोहरा, राजेन्द्र लिंदेन, विक्रम पाण्डे, रीना गुरुङलगायतले सम्बोधन गरेका थिए । राप्रपा एकता घोषणासभामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवं राप्रपा संयुक्तका नेता सुनीलबहादुर थापाको भने उपस्थिति थिएन ।