सभापति देउवाद्वारा शेर्माका निधनप्रति दुःख व्यक्त
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २९ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा (लिम्बू)को निधनप्रति दुःख व्यक्त गरेका थिए । नेता शेर्माको यही फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेता शेर्माको निधनले अत्यन्त दुःखित र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले शेर्माले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा काँग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साथै सभापति देउवाले उनको निधनबाट पार्टीले एक निष्ठावान् नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका थिए ।

 

शेर्मा विसं २०३६ को जनमत संग्रहमा बहुदल प्रचारप्रसार समिति पाँचथरको अध्यक्ष र भूपूसांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति थिए । उनी विसं २०४८ असार १२ गते राष्ट्रियसभाको सांसद भएका थिए ।

 

पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति रहेका शेर्मा दुईपटक काँग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो । विसं २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा छ महिना जेल जीवन बिताएका स्व शेर्मा २०४६ मा प्रजातन्त्र बहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेलजीवन बिताउनुभएको पार्टी कार्यालयले जनाएको छ ।

 

पाँचथरको साराङडाँडा—७ निगालेमा विसं २००० असोज १२ गते जन्मनुभएका शेर्माका पत्नी, दुई छोरा र पाँच छोरी हुन् । उनको पार्थिव शरीर शुक्रबार बिहान ९:०० देखि ११:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय