तीनै तहका सरकारबीच समन्वय जरुरी
शनिबार, चैत ०१, २०७६ मा प्रकाशित

लुम्बिनी, चैत १ : संघीय, प्रदेश सरकार र स्थानीय तह एउटै बाटोमा हिँडेमा मात्रै मुलुकमा छिट्टै समृद्धि आउने कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले बताएका छन् । तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै मन्त्री भुसालले कृषि मन्त्रालयले समन्वयकारी भूमिकासहित कार्यक्रम ल्याउन थालेको पनि बताए ।

उनले भने, ‘संघीय सरकारले अनुसन्धान गर्ने, अन्तरराष्ट्रिय÷राष्ट्रियरूपमा समन्वय गर्ने, बजार व्यवस्थापन गर्ने, प्रदेश सरकारले नियमन र सहजीकरण गर्ने तथा स्थानीय तहले मुख्य भूमिकामा रहेर काम गर्नेगरी कृषि मन्त्रालयले कार्यक्रम ल्याउँदैछ । त्यसले तीन तहमा समन्वयको विकास गर्नेछ ।’

संघ, प्रदेश र स्थानीय सरकारलाई एउटै दिशामा नहिँडाउँदासम्म असली किसान मारमा परेको उनले बताए । उनले भने, ‘तीन तहको सरकार छ, बाठो र टाठो किसानले मात्रै फाइदा लिइरहेको छ । एउटा गाई फार्मको तस्बिर खिचेर तीनै ठाउँबाट अनुदान लिएको पाएका छौँ । त्यो बन्द गर्न हामीले तीन तहको सरकारलाई एउटै दिशामा हिँडाल्नुपर्दछ । त्यसका लागि समन्वयको खाँचो छ, त्यो हुन्छ ।’

कृषि तथा पशुपक्षी विकासमन्त्री भएपछि आफूले देखिनेगरी काम गर्ने मनसायका साथ केही योजना ल्याउन थालेको उनले बताए । मन्त्री भुसालले पाँचजना सदस्य रहेको एक घरधुरीले कम्तीमा ३० हजार कृषिबाट शुक्रकार्रन गर्नेगरी कार्यक्रम ल्याउन थालेको समेत बताए ।

मन्त्री भुसालले समाजवाद ल्याउने काम सरकारको नभई पार्टीको भएको बताएका छन् । नेकपा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ३ रुपन्देहीको भैरहवामा आयोजित बैठकमा मन्त्री भुसालले भने, ‘समाजवाद ल्याउने काम पार्टीको हो । सही विचार सिद्धान्तका साथ पार्टीलाई बलियो र सशक्त बनाउँदै लगेमा मात्रै समाजवाद आउँछ ।’ नेता भुसालले भने, ‘जति छिटो नेकपा बलियो र असल हुन्छ त्यति छिटो मुलुकमा समाजवाद आउँछ ।’

बैठकमा प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पार्टी सदस्यले अन्य दलका सदस्यले झै चिया र पानपसलमा बसेर गाली गर्नुभन्दा सरकारलाई सुझाव दिनुपर्ने बताए । नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्जसमेत रहनुभएका गिरीले भने, ‘पार्टी र सरकारबीच मैत्रीपूर्ण संघर्ष जरुरी छ । पार्टीका नेताकार्यकर्ता त्यसतर्फ लाग्नुपर्दछ ।’

प्रदेशसभा सदस्यसमेत रहनुभएका नेकपा नेता तुलसीप्रसाद चौधरीले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताए । क्षेत्रीय अध्यक्ष हितराज पन्थीको सभापतित्वमा सम्पन्न उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्मा, पार्टीका जिल्ला अध्यक्ष तथा बुटवल उपमहानगरप्रमुख शिवराज सुवेदी, पार्टी जिल्ला सचिव निर्मल जिसी, क्षेत्रीय इन्चार्ज अनुप बराल लगायतले सरकारले गरेका राम्रा कामको संस्थागतरूपमा जनताको घरदैलोमा पु¥याउने र त्रुटिलाई सच्याउन पदीय जिम्मेवारी रहेकालाई निर्देशन दिनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय