काठमाडौँ, चैत १ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार काठमाडौँका विभिन्न स्थानका सडकको स्थलगत अनुगमन गरेको छ । सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्दै कालोपत्रलाई तीव्रता दिएसँगै उनले स्थलगत अनुगमन गरेको हो ।
राज्यमन्त्री मानन्धनरले बालाजु चोकदेखि सोह्खुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गरे । त्यस्तै बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको अनुगमन गरे । उनले बालाजुमा भविष्यमा निर्माण हुने भनिएको ‘अण्डर पास’ ले यहाँको सवारी चाप कम हुने बताए । राज्यमन्त्री मानन्धरले सरकारले काठमाडौँ उपत्यकामा कालोपत्र गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरीक्षण गरिरहेको बताए ।
निर्माण व्यवसायीले कालोपत्र गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर परीक्षण गरिने उनले बताए । निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरेको पाइएमा कारवाही गरिने पनि उनको भनाइ थियो । उनले भने, ‘शहरको सुन्दरतालाई कायम राख्न र धुवाँ धुलोमुक्त राजधानी बनाउनका लागि सरकारले प्रयास गरिरहेको छ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको समन्वयमा उपत्यकाका सडकलाई व्यवस्थित गर्न लागिएको मन्त्री मानन्धरले जानकारी दिए । आफ्नो क्षेत्रमा भएको विकास निर्माणबारे चासो देखाउन उनले स्थानीयवासीलाई आग्रह गरेको छ । केही समयभित्रै उपत्यकाका भित्री र बाहिरी सडकको स्वरुप परिवर्तन हुने उनले बताए । उनले भने, ‘स्थानीयवासीले पनि सडक निर्माणका क्रममा कुनै समस्या हुँदा सरकारलाई तत्काल खबर गर्नुपर्छ ।’