दक्षिणकाली, चैत ५ : सरोकार निकायका अधिकारीलाई एकै ठाउँमा डाकी वडाभरका भूकम्पपीडितलाई पुनःनिर्माणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिएपछि काठमाडौँ, दक्षिणकाली नगरपालिका.–८ मा काम तीव्र भएको छ ।
साविकको छैमले गाविसका अधिकांश तामाङ बस्ती रहेको वडाको पुनःनिर्माणपछि परेका कारण ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालको आयोजनामा गत साउन पहिलो साता पीडितलाई जानकारी दिन सरोकार निकायबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलका सहभागीले भूकम्पले भत्किएको घर पुनःनिर्माणमा जानकारी नै कम भएकाले घर बनाउन नसकेको गुनासो गरेका थिए ।
छलफलपछि टिआइ नेपाल र वडा कार्यालयले सबै पीडितलाई डाकेर साउन तेस्रो साता पुनःनिर्माणसम्बन्धी जागरणमूलक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको प्रभावपछि घर पुनर्निर्माण गर्ने पीडितको संख्या ह्वात्तै बढेको वडाध्यक्ष राजकुमार लामाङले बताए ।
‘भूकम्पले भत्किएका कूल एक हजार २५२ घरमध्ये ६०० भन्दा बढी घर पुनर्निर्माण शुरु भएको छ, नगरपालिकामा सबैभन्दा बढी लाभग्राही यही वडामा छन्, विकट बस्तीसमेत रहेको वडाको पुनःनिर्माणमा नगरपालिकाले पनि ध्यान केन्द्रित गरेको छ’, उनीले भने ।
कार्यक्रममा भूकम्पपीडितले पुनःनिर्माणमा आइपरेका समस्याबारे नगरपालिका, वडा कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अधिकारीलाई प्रश्न गरी स्पष्ट भएका थिए ।
कार्यक्रममा अधिकारीले पीडितका प्रश्नको जवाफ दिएपछि घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासमेत पीडितले जनाएका थिए । साउनअघि नगण्य घर मात्र पुनर्निर्माण शुरु भएको वडामा हाल ५५ प्रतिशतभन्दा धेरै घर बन्न शुरु भएको अध्यक्ष तामाङले सुनाए ।
भूकम्पपीडित मंगल तामाङ वडा कार्यालय र टिआइ नेपालको सहकार्यमा भएको जनचेतनामूलक कार्यक्रमपछि पुनःनिर्माणका प्रक्रियाका बारेमा स्पष्ट हुँदा काम गर्न सजिलो भएको अनुभव सुनाउँछन् । टिआइ नेपालले भूकम्प अतिप्रभावित १४ जिल्लामा भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरेको छ । कार्यक्रमले पुनःनिर्माणमा आइपरेका समस्या फुकाउन सहयोग गरेको पीडितले बताएका छन् ।
नगरपालिकामा चार हजार ७६ लाभग्राही छन् । त्यसमध्ये तीन हजार ७८० ले पहिलो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । एक हजार ८८७ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् ।
एक हजार ५२३ घर पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको एकाइका अनुगमन तथा मूल्यांकन विज्ञ राजकुमार पौडेलले जानकारी दिए । ‘एकाइमा प्राप्त विवरणानुसार दक्षिणकालीका ३७ प्रतिशत भूकम्पपीडितले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको विवरण प्राप्त भएको छ, नगरपालिकामा पछिल्लो समय कामले तीव्रता पाएको देखिन्छ’, उनीले भने ।
वडा नं ८ मा नगरपालिकाका नौ वडामध्ये सबैभन्दा बढी लाभग्राही रहेको सबइञ्जिनीयर पृथ्वीमान श्रेष्ठले बताए । वडामा कूल एक हजार २५२ लाभग्राही छन् । वडा नं १ र ९ का ८० प्रतिशत घर बनेको उनीले सुनाए । नगरपालिकामा पनि बजार क्षेत्रको पुनर्निर्माण सुस्त छ ।
‘बजार क्षेत्रमा जग्गा कम भएकाले भूकम्पले भत्किएका घर बन्न सकेको छैन, पुनःनिर्माणलाई तीव्रता दिन पछिल्लो समय जिल्ला आयोजना कार्यान्वयन एकाइले आठ जना घुम्ती डकर्मी र दुई जना सामाजिक परिचालक पनि खटाएकाले बढी लाभग्राही भएका वडामा महत्वका साथ पुनर्निर्माण अघि बढाउँछौँ’, उनीले भने ।
भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लाको पुनर्निर्माण सुस्त छ । उपत्यकाको पनि काँठ क्षेत्रभन्दा मुख्य शहरी क्षेत्रको पुनःनिर्माणमा ढिलाइ भइरहेको एकाइका अनुगमन तथा मूल्यांकन विज्ञ पौडेलले सुनाए ।
राजधानी काठमाडौँका ११ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकाकै पुनःनिर्माणको गति आशातीत रुपमा अघि बढ्न सकेको छैन । महानगरका सात हजार ३९५ लाभग्राहीमध्ये छ हजार ५२ ले पहिलो किस्ता लिएका छन् ।
पहिलो किस्ता लिई जगको काम सकेर एक हजार ६९१ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । छानासम्मको काम सकी एक हजार ४४६ भूकम्पपीडितले मात्र तेस्रो किस्ता लिएको एकाइले जनाएको छ ।
महानगरपालिकामा हालसम्म २० प्रतिशत मात्र घर बनेका छन् । काठमाडौँमा कूल ४८ हजार १२२ लाभग्राही छन् । त्यसमध्ये ४१ हजार ८१२ ले पहिलो किस्ता लिएका छन् । पहिलो किस्ता लिएकामध्ये आधा पीडितले पनि दोस्रो किस्ता लिएका छैनन् । दोस्रो किस्ता लिने पीडित बीस हजार ४९ मात्र छन् ।
काठमाडौँका १६ हजार ७३५ पीडितले घर सम्पन्न गरी तेस्रो किस्ता बुझेका छन् । यो कूल लाभग्राहीको ३६ प्रतिशत हो । काठमाडौँमा एक हजार ४१ प्रबलीकरण लाभग्राहीमध्ये पाँच जनाले मात्र घर बनाएका छन् । महानगरपालिकामा दुई, तारकेश्वरमा एक र बूढानीलकण्ठमा दुई गरी जम्मा पाँच प्रबलीकरण लाभग्राहीले मात्र घर बनाएको एकाइले जनाएको छ । पुनर्निर्माण लाभग्राहीले तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख अनुदान पाउँछन् । पीडितलाई भूकम्प प्रतिरोधी घर बनाउन सरकारले अनुदान वितरण गरेको हो ।