परासी, चैत ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपको आज अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा उनले स्तूपको महत्व, इतिहास तथा यस क्षेत्रको विकासका लागि भइरहेको पहलका विषयमा जानकारी लिए ।
संघीय सांसदसहितको सने टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मैत्तेय) ले स्तूप क्षेत्रको महत्व र विकासका पहलबारे जानकारी गराउँदै रामग्रामको गुरुयोजना बनिसकेको र अब जग्गा अधिग्रहणको प्रक्रिया शुरु गर्न लागेको जानकारी गराए । उनले भने, ‘यहाँको स्तूप क्षेत्रको चैत्यको मौलिक स्वरुपलाई जोगाउँदै यसको पाँच सय मिटर वरपरसम्म अधिग्रहण गर्ने योजना छ, गुरुयोजनाअनुसार ११४ बिघा जग्गा आवश्यक पर्छ, हाल १४ बिघा क्षेत्रफल रहेकाले करीब १०० बिघा क्षेत्रफल जग्गा खरिद गर्नुपर्ने अवस्था छ ।’
तत्काल जग्गा अधिग्रहणका लागि एक अर्ब ६० करोड बजेट आवश्यक पर्ने बताउँदै उनले ढिलासुस्ती भएमा यसको लागत बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराए । विश्व सम्पदा सूचीमा समावेशको प्रक्रियामा रहेको यो क्षेत्रमा जग्गा अधिग्रहणपछि विहार तथा ध्यानका लागि आवश्यक संरचनाहरू निर्माण गरिने उपाध्यक्ष मैत्यले बताए ।
गुरुयोजनाअनुसार यहाँ संरचना बनाउन छ अर्ब बजेट आवश्यक पर्ने भएकाले पहल गरिदिन पनि उनले पूर्वप्रधानमन्त्री नेपाललाई आग्रह गरेका थिए । जग्गा अधिग्रहण गरी संरचना बन्न शुरु भएमा यहाँ विदेश तथा निजी क्षेत्रबाट लगानी बढ्दै जाने उनले उल्लेख गरे । हाल यहाँ कोरिया, थाइल्यान्ड लगायतले लगानी गरिरहेका छन् ।