मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र चर्का आवाज निकाल्नेलाई कारवाही
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ६ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारवाही अभियान थालेको छ । महाशाखाले मोटरसाइकलले ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुपपरिवर्तन गरी चलाउने, लापरवाही ढंगले चलाउनेलाई कारवाही थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

 

त्यस्ता मोटरसाइकलका कारण दुर्घटना बढ्ने भएकाले सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले कारवाही थालिएको हो । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र मात्र नभइ देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको जनाइएको छ ।

 

ठूलो आवाजका कारण ध्वनि प्रदूषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नु परेको छ । त्यस्ता बाइक तीव्र गतिमा कुदाइने र त्यसमा ठूलो आवाज हुने भएकाले ध्वनी प्रदूषण हुने गरेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप एक हजारदेखि १५ हजारसम्म जरिवाना गराइएको छ ।

 

समातिएका मोटरसाइकलमध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलाई चलाउन रोक लगाएको छ । त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकललाई भने पुरानै स्वरुपमापरिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

यस्ता किसिमका मोटरसाइकल कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हट लाइन १०३ मा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय