काठमाडौँ, चैत ६ : पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुंगा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको संख्या बढ्न थालेको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र विहिबार उपत्यका बाहिर जाने यात्रुको संख्या बढेको बताउँछन् । ‘नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोविहिबार घर जानके यात्रुको भीड लागेको छ’, उनी भन्छन् ।
घर जान विहिबार बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलंकी क्षेत्रमा यात्रुको भीड लागेको थियो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताउँछन् ।
महाशाखाका अनुसार हिजोदेखि विहिबारसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् । त्यस्तै १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन् । अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला विश्वमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य मास्कको प्रयोग गन आग्रह गर्छन् । ‘हरेक यात्रुले आफ्नो सुरक्षा आफैँ गरे कोरोना भाइरस फैलन पाउँदैन’, उनी भन्छन् ।