भीडभाड हुन नदिन ट्राफिक टोली परिचालन
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ८ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउन र भीडभाड कम गराउन प्लेकार्डसहित आजबाट ट्राफिक प्रहरी खटाइएको जानकारी दिए ।

सिट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न अनुरोधसहितको अभियान शुरु गरिएको ढकालले बताए । उक्त अभियानका लागि महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाका ८६ स्थानमा २०० बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकउपर दिँदै आएको सचेतना कक्ष भने स्थगन गरेको जनाएको छ । ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्र नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।

सार्वजनिक सवारीसाधनमा स्यानेटाइजर छर्केर मात्रै सञ्चालन गर्न तथा सिट क्षमताभन्दा बढी यात्रु राखेर नचलाउनसमेत चालकलाई प्रहरीले अनुरोध गरेको छ । सोअनुसार भए नभएको अनुगमनका लागिसमेत टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय