कोभिड–१९ को संक्रमणबाट बच्न रामपुरमा घरदैलो सचेतना अभियान थालिएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक कर्मचारी, विद्यार्थी, पत्रकार, स्वयंसेवकलगायतको टोलीले घरदैलोमा नै पुगेर नागरिकलाई कोरोना भाइरसको संक्रमणबारे जानकारी दिने गरिएको छ ।
रामपुर नगरपालिका–६ को कार्यालयबाट घरदैलो सचेतना अभियान शुरु गरिएको छ । सो अभियानको शुभारम्भ नगर प्रमुख रमणबहादुर थापाले गर्दै रोग लागि हालेमा आत्तिनभन्दा पनि आत्मबल बढाएर सजगता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले नगरपालिकाले विभिन्न स्थानमा हेल्प डेस्क राख्ने, आइसोलेसनका लागि पाँच वटा श्यया तयार पारेको बताउँदै मास्क उत्पादन कार्य गर्न लागेको उहाले बताए ।
घरघरमा टोली विभाजन भएर नागरिकलाई जनचेतना दिने कार्यमा जुटेको वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताए । ‘स्वयंसेविका, शिक्षक विद्यार्थी, राजनीतिक दल, सामाजिक व्यक्ति सबैलाई समूहमा घरघरमा परिचालन गरेका छौँ, पर्चा बाड्ने, संक्रमणबाट सर्तक रहन आग्रह गरेका छौँ’, अध्यक्ष न्यौपानेले भने । भीडभाडमा ननिस्कन, हात नमिलाउन, अनिवार्य मास्कको प्रयोग गर्न सचेत गराउने कार्यमा लागेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुंगानाले बताए ।
जिल्लाका दशवटै स्थानीय तहले कोभिड–१९ बाट बच्न र यो रोगबाट संयमता अपनाउन सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । स्वासप्रस्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट कोरोना भाइरस सर्ने हुँदा यस्ता क्रियाकलापमा सचेत रहन स्थानीय तहले आह्वान गरेको छ । नियमितरुपमा साबुनपानीले हातधुन, खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख ढाक्न सर्वसाधारणमा जानकारी दिन थालिएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाले स्वास्थ्यकर्मीबीच छलफल गरी नागरिकलाई सचेत गराउन थालेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ‘विभिन्न सञ्चारमाध्यम र स्वास्थ्यकर्मीबाट कोरोना संक्रमणबारे जानकारी दिइरहेका छौँ, आवश्यक कामबाहेक घरदेखि टाढा नजान, हात नमिलाउन सन्देश प्रवाह गरिरहेका छौँ’, अध्यक्ष भण्डारीले भने ।