मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ८ : स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए ।

 

हाल देशका पश्चिमी भूभागलगायत अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी र मध्य भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

 

आइतबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार देशभर आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय