कोभिड–१९ : प्राथमिकतापूर्वक सूचना प्रवाह गर्दै सञ्चारमाध्यम
आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ९ : जब विपद् र जोखिमका अवस्था आउँछन्, तब मानिसलाई समयमा सही सूचनाको जरुरत पर्छ । सही सूचना पाउनु नागरिकको संवैधानिक हक हो । यस्ता अवस्थामा कतिपय गलत र अप्रमाणित सूचनाले जनधनको क्षतिसमेत पुयाइदिन सक्नेतर्फ सबभन्दा पहिला सञ्चारमाध्यम नै सचेत हुनुपर्ने हुन्छ ।

विश्वव्यापी संक्रमण भइरहेको कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि यतिबेला सरकारी र निजी सञ्चारमाध्यमले आफ्नो त्यही जिम्मेवार भूमिका निर्वाहका लागि हरदम प्रयत्न गरिरहेका छन् । राज्यको चौथो अंगका रुपमा मानिने पत्रकारिता क्षेत्रले नै दर्शक, स्रोत र पाठकलाई सूचना र सचेतनाका साथै शिक्षा र मनोरञ्जनका क्षेत्रमा निरन्तर सेवा गरिरहेका हुन्छन् ।

राज्यको सञ्चारमाध्यमका रुपमा रहेका सरकारी स्वामित्वका सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक निकायको भूमिका यस्ता परिस्थितिमा झन् विशेष हुने गरेको उदाहरण विसं २०७२ को भूकम्पका बेला ती निकायले गरेको योगदानबाट स्पष्ट भइसकेको छ ।

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि ती माध्यम र निकायले के गरिरहेका छन् र अझ प्रभावकारी प्रस्तुतिका लागि सरकारका तर्फबाट के गर्नुपर्ला ? यिनै प्रश्न र कार्यसूचीका साथ अर्थमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा आइतबार बिहान १०:३० बजे सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाकक्षमा उपस्थित हुनुभएको थियो, जहाँ ती निकायका प्रमुख र प्रतिनिधि बोलाइएका थिए ।

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिँदै हाल ती निकायबाट के कस्ता काम भएका छन् भनेर मन्त्री डा खतिवडाले सोधेपछि शुरु भएको ब्रिफिङबाट मन्त्री डा खतिवडा सोचेजस्तै ढंगबाट काम भइरहेको र यसलाई थप व्यवस्थित बनाउनुपर्ने निचोडमा पुग्ए । ती माध्यमले राज्यका निर्णय र जनस्तरका समस्या र सूचनालाई नियमित प्रवाह गरिरहेको र आफ्न सबै सेवालाई कोभिड–१९ मुखी बनाएको अगवत गराएका थिए ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले यस स्थितिको गहनतालाई ध्यानमा राखेर राज्यका भनाइलाई अगाडि ल्याउने, विज्ञसँगको सम्पर्क बढाउने, रोकथाम र नियन्त्रणका लागि जनस्तरमा भएका काम बाहिर ल्याउने, नकारात्मक र भ्रमपूर्ण सूचनालाई पुष्टि गरेर सही सूचना दिने काम गरिएको बताए । उनले छिमेकसँगका सबै नाकामा राससका प्रतिनिधि नभए पनि प्रदेश कार्यालय र स्थानीय समाचारदाताका सहयोगमा समाचार सम्प्रेषण गरिएको बताए । राससले न्यूजलाइन सेवामार्फत हरेक दिन बिहान ६:०० बजेदेखि राति ११:०० बजेसम्म नेपाली समाचार, तस्वीर, आलेख, अंग्रेजी समाचार, अन्तरराष्ट्रिय समाचार र श्रव्य सेवा प्रदान गर्दै आएको छ । ती सेवा राससका ग्राहक सञ्चारमाध्यमले प्रयोग गर्दै आएका छन् ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले आफ्ना समाचारदाताका साथै राससको सेवाबाट समाचार प्रवाह गरिहेको उल्लेख गर्दै २१ भाषामा प्रसारित हुने समाचारमा कोभिड–१९ सँग सम्बन्धित सूचना र समाचारलाई प्राथमिकता दिइएको बताए । उनले कोभिड–१९ बारे जनतासँग प्रत्यक्ष संवाददेखि सचेतनाका लागि विज्ञसँगको कुराकानी प्रसारण गरिएको जानकारी दिए ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले समाचारमा विद्यमान विश्वव्यापी महामारीबारे प्राथमिकता दिनाका साथै हरेक दिन बिहान ०७ बजेको समाचारपछि कोरोना भाइरस विशेष परिसंवाद चलाइएको जानकारी दिए । उनले ‘मुन्द्रेसँग कमेडी क्लब’जस्ता कार्यक्रममा पनि सोही भाइरसको सचेतनासम्बन्धी विषय र विज्ञसँको सम्पर्क जोड्न थालिएको बताए ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले आफू सचेत हुँदै अरुलाई पनि सचेत गराउने क्रममा सातै प्रदेश ब्युरोबाट समाचार संकलन भइरहेको अवगत गराउए । उनले ‘गोरखापत्र’ दैनिक, अनलाइन र ‘द राइजिङ नेपाल’मा जनहितका सूचना र समाचार दिनाका साथै विज्ञँसँग कोरोना केन्द्रित बहस चलाइएको उल्लेख गरे ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले गलत समाचार दिने अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको तथा सञ्चारमाध्यममाथि नियमित अनुगमन गरिएको जानकारी दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइलमा कोरोनाविरुद्धको सचेतनाबारेको रिङ टोन प्रभावकारी भएको उल्लेख गर्दै एसएमएस सेवासमेत आरम्भको तयारी भएको बताए भने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले इन्टरनेट सेवा प्रदायकसँग बढी सुविधा दिलाउन र गलत सूचना सामाजिक सञ्चालमा प्रयोग भएमा तत्काल कारबाही गर्न संयन्त्र तयारी गरिएको जानकारी दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले यस विशेष स्थितिमा सकारात्मक समाचार प्रवाह र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघसँग समन्वय गरी भूमिका खेल्ने काम भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय