‘जनता कफ्र्यु’ले काँकडभिट्टा नाका ठप्प
आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

भद्रपुर, चैत ९ : भारतले ‘जनता कफ्र्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन् ।

आज बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कफ्र्यु लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द भएको कारण सीमामा आवतजावत ठप्प बनेको ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्की बताउँछन्  ।

कोरोना भाइरस फैलिने सन्त्रास बढेको बेला भारतको कफ्र्युले नाका ठप्प हुँदा नेपाललाई फाइदा नै पुगेको उनको धारणा छ । उनका अनुसार भारतबाट यात्रु आउने क्रम रोकिएको छ ।

काँकडभिट्टा नाकामा नेपाली सुरक्षाकर्मीले पनि कडाइ गरेको पाइएको उनले बताए  । नेपाली सुरक्षाकर्मीले भारततिर अनावश्यकरुपमा जाने र नाकामा रमिता हेर्न आउनेलाई फर्काएर राम्रो गरेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नाकामा नेपालले बन्द नगरेको तर भारतमा लगाइएको ‘जनता कफ्र्यु’ले ओहोरदोहोर ठप्प बनेको जानकारी आएको बताए  । नाका बन्द गर्ने विषय संघीय सरकारको क्षेत्राधिकारभित्र भएको जनाउँदै हालसम्म केन्द्रबाट त्यस्तो बन्दको निर्देशन नआएको उनको भनाइ छ ।

नागरिक यातायात प्रालिका सञ्चालक राम थापाले यात्रु घटेकाले बस सेवा कटौती गरिएको जनाउँदै १५ वटामध्ये आज पाँच वटा मात्र छोटो दूरीमा चलाइएको उनले जानकारी दिए । चलाइएका बसमा समेत यात्रु नभएर खाली कुदाउनु पर्दा ठूलो घाटा व्यहोर्नु परिरहेको उनी बताउँछन्  ।

काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीटंकी नाकाका खटिएका पश्चिम बंगाल प्रहरीका सहायक निरीक्षक किशोर क्षेत्रीले सीमावर्ती बजार र गाउँ ‘जनता कफ्र्यु’का कारण पूरै बन्द रहेको बताए  । बजार, यातायातलगायत सबै बन्द रहेको र सर्वसाधारण घरभित्रै बसेको हुँदा नाकामा ओहोरदोहोर ठप्प रहेको उनको भनाइ छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण फैलिएका कारण सीमानाका नेपाल सरकारले अविलम्ब बन्द गरे संक्रमण भित्रिने जोखिम कम हुने भन्दै सीमा क्षेत्रका बासिन्दाले माग गर्दै आएका छन् ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले समेत नाकालाई सरकारले बन्द गर्नुपर्ने अवस्था भइसकेको बताउँछन्  । उनले प्रदेश नं १ सरकारलाई मेचीनगर नगरपालिकाका तर्फबाट काँकडभिट्टा नाका बन्द गराइदिन ध्यानाकर्षण गराइसकेको बताए  ।

सिरहामा दुई नाका सञ्चालन

१९ संक्रमणको सम्भावित खतरालाई दृष्टिगत गरी भारतसँग जोडिएका दुई नाकाबाहेक सिरहाका सबै नाका आज बिहानदेखि बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरस फैलिएपछि भारतसँग जोडिएका माड्र र ठाडीबाहेक जिल्लाका सबै नाका आज बिहानदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

खुला सीमाका कारण भारतबाट मानिसको ओहोरदोहोरबाट भाइरस भित्रिन सक्ने जोखिलाई मध्यनगर गरि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती दुई नाकाबाहेक सबै सीमा नाका बन्द गरिएको प्रजिअ गुरागाईंले बताए  ।

परिस्थिति जटिल बन्दै गए खुला राखिएका ती दुवै नाकासमेत बन्द गर्न सकिने र खुला रहेका नाकामा सुरक्षा निगरानी बढाइनुका साथै दुई÷दुई हेल्थ डेस्क राखिएको बताइएको छ ।

यस्तै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सिरहामा १५ आइसोलेसन कक्ष तयार पारिएको छ । सदरमुकामस्थित जिल्ला अस्पताल, धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पताल र कर्जन्हा नगरपालिकास्थित फुलकुमारी मेमोरियल अस्पतालमा पाँच÷पाँच श्यया गरी १५ श्ययाका आइसोलेसन कक्ष तयार पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय