कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

विराटनगर,चैत १३:  प्रदेश नं १ सरकारले कोभिड१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ ।

 कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारीप्यासी, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

 अटेर गर्ने प्रहरी नियन्त्रणमाः ४७ जना क्वारेन्टाइनमा

 भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । यसैगरी कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । यस्तै लकडाउन उल्लंघन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 यसैबीच लकडाउनमा उपभोक्ताका घरघरमा सामान पु¥याउन स्थानीय गुद्री अनलाइनले माग गरेबमोजिम चारचक्के गाडी एक थान, मोटरसाइकल आठ थान र साइकल तीन थान चलाउनलाई पासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । अनलाइनमार्फत फलफूल, तरकारी, किराना सामान तथा खाद्य सामग्री पनि बिक्रीवितरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा निवेदन परेबमोजिम जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरिएको कार्यालय प्रमुख हिमालय बरालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय