काठमाडौंमा कसले पाउनेछ सरकारी राहत ? यस्तो छ मापदण्ड
सोमबार, चैत १७, २०७६ मा प्रकाशित

काठमाडौं, चैत १७ : काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा बसेको काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले मापदण्ड स्वीकृत गरेको हो ।

काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएर समस्यामा छन् । ‘विपन्न वर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरिएको हो,’ मेयर विद्यासुन्दर शाक्यले भने ।

मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आय स्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका, अरुको सहयोग एवं सहारामा बाँचेका असहाय व्यक्तिले राहत पाउने छन् ।

त्यस्तै, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौ-धौ भएका र सम्बन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई राहत वितरण गरिने महानगरपालिकाले जनाएको छ ।

त्यसैगरी, संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर-जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी राहत दिइने महानगरपालिकाले जनाएको छ । हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्नेहरुको विवरण संकलन थालिसकेको महानगरपालिकाले जनाएको छ ।

नगर कार्यपालिका बैठकले भिडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घर-घरमा खाद्यान्न पुर्‍याउने, आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित निकायसँग छलफल गरी अघि बढ्ने निर्णय पनि गरेको छ ।

बैठकले पशुपंक्षी, चराचुरुङ्गीलाई आहाराको व्यवस्था वडाले आफ्नो बजेटबाट गर्ने निर्णय पनि गरेको छ ।  बैठकले पाँच सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टाइन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय