कोरोना कोषमा रकम जम्मा गर्नेहरू बढ्दै, झण्डै दुई अर्ब संकलन
शनिबार, चैत २२, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत २२ : नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो ‘एकले थुकी सुकी, सयांैले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरू दिन दिनै बढीरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म कोषमा झण्डै दुई अर्ब बढी रकम जम्मा भएको छ । प्रतिबद्धता आउने क्रम पनि बढ्दै गएको छ ।

विश्वव्यापी रुपमा कोरोनाको कहर बढ्दै गएको छ । यो समाचार सामग्री तयार पार्दासम्म संसारभरका २०३ मुलुकका १० लाख १६ हजार २५८ जनामा कोभिड १९ को सक्रमण देखिएको छ । सक्रमण देखिएका मध्ये ५३ हजार २३५ जनाको निधन भएको छ । यस्तै दुई लाख १३ हजार १२६ जना भने उपचार पछि घर फर्केका छन् ।

कोभिड–१९ को ‘इपिसेन्टर’का रुपमा यतिबेला अमेरिका देखिएको छ । अमेरिकमा मात्रै दुई लाख ४५ हजार ३४१ जना संक्रमित देखिएका छन् भने ६ हजार ९५ जनाको निधन भएको छ । यस्तै इटालीमा एक लाख १५ हजार २४२ जान संक्रमित हुँदा १३ हजार ९१५ जनाको निधन भएको छ । यस्तै स्पेनमा एक लाख १२ हजार ६५ जना संक्रमित देखिँदा १० लाख ३४८ जनाको निधान भएको छ । जर्मनीमा ८४ हजार ७९४ जना संक्रमति देखिँदा त्यहाँ एक हजार १०७ जनाले ज्यान गुमाइसकेका छन् ।

शुरुमा कोरोनाको केन्द्र रहेको चीनमा भने ८१ हजार ६२० जनामा संक्रमति देखिएकोमा ७६ हजार ५७१ जान उपचार पछि घर फर्केका छन् । नेपालमा हालसम्म ६ जनामा संक्रमण देखिएकोमा एक जना उपचार पछि घर फर्केका छन् भने अन्य पाँच जनाको उपचार भइरहेको छ । यस्तो विषम अवस्थालाई ध्यान दिएर सरकारले यही चैत २५ गतेसम्म लकडाउन गरेको छ ।

लकडाउनका कारण जनजीवन प्रभावित भएको छ । यस्तो अवस्थामा सरकारले स्थापना गरेको कोषमा दिनप्रतिदिन रकम थपिँदै गएको छ । सरकारले यही चैत ११ गते ५० करोड राखेर कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोष स्थापना गरेको थियो । सरकारले स्थापना गरेको कोषमा झण्डै दुई अर्ब बराबरको रकम जम्मा भइसकेको छ । बिहिबार मात्रै कोषमा झण्डै एक अर्ब बढी रकम जम्मा भएको थियो । यस्तै निजामति कर्मचारीको पनि यसमा झण्डै २५ करोड बराबरको रकम जम्मा हुने क्रममा रहेको छ ।

सो कोषका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्यले रकम जम्मा गर्नुभएको छ । यस्तै, सरकारी कम्पनी एवम् निजी क्षेत्रका संघ संस्थाले पनि दिल खोलेर सहयोग गरेका छन् । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि नगद र जिन्सी दुवै उपलब्ध गराएको छ । कोषमा दैनिक जसो नै रकम जम्मा गर्नेहरूको संख्या बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बिहिबार साँझसम्म कोषमा एक अर्ब नौ करोड २५ लाख २२ हजार ५८६ बराबरको रकम जम्मा भएको छ ।

सरकारले कोषमा सहयोग रकम उपलब्ध गराउन चाहनेलाई सहज होस् भनेर सिंहदरबार परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको १९६०००००११०१ नम्बरको खाता सञ्चालनमा ल्याएको छ । कोषमा आवश्यक सहयोगका लागि सरकारले आम नेपालीमा आग्रह गरेको छ । सरकारले आफूखुसी कुनै पनि अन्य कोष स्थापना गर्न रोक लगाएको छ । बिहिबार मात्रै कोषमा एक अर्ब बढी रकम जम्मा भएको छ । कोषमा रकम जम्मा हुने क्रम बढ्दै गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

कोषमा सरकारी कम्पनीका अलावा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्ने क्रम बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त विवरण अनुसार विश्वम्भर घिमिरेले एक लाख सहयोग गर्नुभएको छ भने माधवकुमार बस्नेत र मीना बस्नेतले ५० हजार सहयोग गर्नुभएको छ । नाम नखुलेका तथा एक लाख भन्दा कम सहयोग गर्ने व्यक्तिहरूबाट मात्रै कोषमा दुई लाख ८२ हजार ९१२ जम्मा भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वाणिज्य बैंकको अनुमतिपत्र पाएका २७ वटा वाणिज्य बैंकले पनि धमाधम कोषमा रकम जम्मा गरेका छन् । वाणिज्य बैंकहरूले मात्रै कोषमा २५ करोड ४० लाख बराबरको रकम जम्मा गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमइ बैंकले एक करोड १५ लाख रकम सहयोग गरेको छ । यस्तै, राष्ट्रिय बाणिज्य बैंक एक करोड ८५ लाख रकम जम्मा गरेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नेपाल आयल निगम ५० करोड, नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड र नेपाल दूर सञ्चार कम्पनी लिमिटेड १२ करोड सहयोग गरेको छ । नेपाल धितोपत्र बोर्डले तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड, नेपाल स्टक एक्चेन्जले तीन करोड ५१ लाख, नागरिक लगानी कोषले दुई करोड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ३५ लाख जम्मा गरेको छ ।

यस्तै, बीमा समितिले पाँच करोड, राष्ट्रिय बीमा संस्थानले एक करोड, कर्मचारी सञ्चय कोषले पाँच करोड, नेपाल फेडफरवार्डस एसोसिएसन सात लाख छ हजार १०१ रकम जम्मा गरेको छ । कृषि विकास बैंकले एक करोड ६० लाख, बैंक अफ काठमाडौंले एक करोड ५ लाख ५० हजार रकम जम्मा गरेको छ । त्यसमा बैंकका कर्मचारीले मात्रै ५ लाख ५० हजार जम्मा गरेका छन् । सेञ्चुरी बैंकले ८५ लाख, सिटिजन बैंकले ५० लाख, सिभिल बैंकले ७८ लाख ५ हजार जम्मा गरेका छन् ।

हिमालयन बैंकले एक करोड २५ लाख, कुमारी बैंकले ७० लाख र लक्ष्मी बैंकले एक करोड जम्मा गरेको छ । माछापुच्छ्रे बैंकले एक करोड ६ लाख, मेगा बैंकले एक करोड ३५ लाख, एनसिसी बैंकले एक करोड, नेपाल बंगलादेश बैंकले एक करोड ४५ लाख, नेपाल बैंकले एक करोड ३५ लाख, नेपाल एसबिआई बैंकले एक करोड र नेपाल इन्भेस्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सो बैंकले एक करोड ५१ लाख सहयोग गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग रकम जम्मा गरिएको छ । प्रमुख कार्यकारी अधिकृत शेरचनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई सहयोग रकम उपलब्ध गराएको जानकारी दिए । संकटको समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने भएकाले आफूहरूले सहयोग गरेको शेरचनको भनाइ छ ।

यसैगरी प्राइम बैंकले एक करोड ७५ लाख, सानिमा बैंकले एक करोड ६८ लाख र सिद्धार्थ बैंकले ८५ लाख सहयोग गरेको छ । स्ट्याण्र्डड बैंक, सनराइज बैंक, एनआइसि एशिया बैंक, नबिल बैंक र एभरेष्ट बैंकले आन्तरिक छलफल गरिरहेको जानकारी दिएका छन् । ती बैंकले पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार सरकारले कोष खडा गर्ने वित्तिकै ५० करोड राखिएको र त्यसमा निरन्तर सहयोग गर्ने शुभेच्छुक बढीरहेका छन् ।

मन्त्रिपरिषद्ले मन्त्रिहरूको एक महिनाको तलब राख्ने भएको निर्णय गरे अनुसार चैत महिनाको रकमबाट स्वतः कट्टी भएको छ । सबै सार्वजनिक संस्थान, नीजि क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गरेको थियो । कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले खर्च गर्ने तयारीमा सरकार लागेको छ ।

कोषको कार्यविधिका आधारमा कोरोनासम्बन्धी औषधि, उपकरण, अस्पतालका उपकरण, कोरोनाबाट संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्न खर्च गरिनेछ । खाताको सञ्चालन महालेखा नियन्त्रकको कार्यालयबाटै गरिनेछ । कोषका सदस्य सचिव विडारीका अनुसार कोषमा रहेको रकम कोरोनासँग जोडिएका समग्र पाटा पक्षमा नै खर्च गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय