सीमामा अलपत्र नेपालीलाई विशेष प्रबन्ध गर्नु आवश्यक छ : नेता बडू
शनिबार, चैत २२, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत २२ : नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद दिलेन्द्रप्रसाद बडूले सीमा नाकामा पुगेर पनि घर आउन नपाई अलपत्र परेका नेपालीलाई सरकारले फरक र विशेष प्रबन्ध गर्नुपर्ने माग गरेका छन् । नेता बडूले दार्चुला सीमानाकामा विगत एक साताभन्दा बढी समयदेखि अलपत्र परेका दार्चुलाका तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, बाजुरा, डोटी, अछामलगायत जिल्लाका सयौँ नेपाली विचल्लीमा परेको अवस्थाप्रति संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

दार्चुलाको सीमा नाकामा अलपत्र परेका नेपाली स्वदेश आउन नपाएपछि भारत सरकारको स्थानीय प्रशासनको सहयोगमा तत्कालका लागि अस्थायी शिविरमा रहेका र त्यहाँ ठूलो संख्यामा सँगै बस्नुपर्ने बाध्यताका कारण संक्रमणको जोखिमको सम्भावना झनै बढाएको नेता बडूले जानकारी दिए । व्यवस्थितरूपमा नेपाल प्रवेश गर्न नपाएका कारण जानकारी र अभिलेख बिना नै महाकाली नदीमा पौडी खेलेर, तुइन र ट्युबबाट ज्यान जोखिममा राखी आउनेको संख्या निरन्तर बढिरहेको उनले बताए ।

उनले स्थानीय तहहरूमा सुरक्षित क्वारेन्टाइन र आवश्यक स्वास्थ्यकर्मी तथा उनीहरूको व्यक्तिगत सुरक्षा उपकरण तथा स्वास्थ्य परीक्षणका आवश्यक सबै उपकरणको व्यवस्थाका लागि केन्द्र र प्रदेश सरकारले स्थानीय तहहरूमा पर्याप्त साधन स्रोत तथा आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

यस प्रयोजनका लागि खर्च हुने गरी नेता बडूले आफूले पाउने पारिश्रमिकको १५ दिन बराबरको रकम कोरोना भाइरस संक्रमण रोकथाम कोषको केन्द्रीय खातामा सहयोग गर्ने निर्णय काँग्रेस संसदीय दलमार्फत घोषणा भइसकेको र १५ दिनको पारिश्रमिक थप गरी एक महिनाको पारिश्रमिक रकम सोही कोषमा सहयोग गर्ने निर्णय सार्वजनिक गरेका छन् ।

उनले दार्चुलाका लागि ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित रकम छ करोडमध्ये खर्च हुन बाँकी रकम आजैका मितिदेखि उल्लेखित कार्यमा प्रयोग हुने गरी कोषमा जम्मा गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय